मोदीको भ्रमण: कति खटाइयो सुरक्षाकर्मी?

  • 12 मे 2018
सुरक्षाकर्मी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा उनको सुरक्षाका लागि हजारौं सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीहरूले बताएका छन्।

मोदीका पछिल्ला दुईवटा भ्रमण धेरैजसो काठमाण्डू केन्द्रित भए पनि यसपटकको भ्रमण काठमाण्डू अतिरिक्त जनकपुर र मुस्ताङका धार्मिकस्थलहरूमा पनि केन्द्रित भएकाले स्थान विशेषको सुरक्षा रणनीति अपनाइएको थियो।

मानिसहरूको बाक्लो उपस्थिति रहने ती क्षेत्रलाई भ्रमणअघि देखि नै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सादा पोशाकका सुरक्षाकर्मीले सूक्ष्म निगरानी राखेका थिए।

काठमाण्डूमा मात्रै प्रहरी मुख्यालय तथा महानगरीय प्रहरीका अतिरिक्त सेना र सशस्त्रका गरी ९ हजार भन्दा बढी सुरक्षाकर्मी खटाइएको अधिकारीहरूले बताएका छन्।

मोदीको भ्रमणपूर्व नाकाबन्दीको चर्चा

मोदीका पाँच सम्भावित मनसुबा

कारबाही

त्यसमध्ये ठूलो हिस्सा भारतीय प्रधानमन्त्री मोदी बसेको होटल आसपास, उनी आउजाउ गर्ने मार्ग र आसपासका सहायक बाटो तथा मुख्य कार्यक्रमस्थलमा थिए।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ''भ्रमणका क्रममा कानून विपरीत अवाञ्छित गतिविधि गर्नेलाई नियन्त्रणमा लिई अनुसन्धान जारी राखिएको छ, दोषीलाई कडाइपूर्वक कारबाही गरिनेछ।''

नेपाल प्रहरीका अनुसार काठमाण्डू उपत्यकाबाट झण्डै ५३ जना र जनकपुर आसपासबाट दुई दर्जनभन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ।

पक्राउ पर्नेमा विप्लव नेतृत्व र वैद्य नेतृत्वका माओवादी कार्यकर्ता, सुगौली सन्धिअघिको नेपालको भूभाग पनि अहिलेको नेपालभित्रै हुनुपर्ने माग गर्ने 'ग्रेटर नेपाल'का सदस्यहरू तथा नेपाल समाजवादी कांग्रेसका कार्यकर्ताहरू रहेको तथा कतिपयको पहिचान हुन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता डिआईजी मनोज नेउपानेले भने, ''विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धी कार्यविधि बमोजिम नै एकिकृत सुरक्षा रणनीति अपनाइएको थियो र अत्याधुनिक उपकरणहरूको पनि सहयोग लिइएको थियो।''

उपकरण

मोदीको बाहिरी सुरक्षा घेरामा प्रहरीले आफूसँग रहेका उपकरण प्रयोग गरेको र भित्रीघेरामा भारतीय सुरक्षाकर्मीले आफैंले ल्याएका उपकरण प्रयोग गरेको बताइन्छ।

नेपाली सेनाका अनुसार विशिष्ट पाहुनाको सुरक्षामा 'एस्कर्टिङ'मा तीनवटा मोबाइल निस्क्रिय पार्ने, सूचना आदानप्रदान गर्ने, विष्फोटक पदार्थ निस्क्रिय पार्ने तथा गाडीको नम्बर पहिचान गर्ने उपकरण तथा विशेषज्ञ युनिटहरू प्रयोग भएका थिए।

नेपाली सेनाका प्रवक्ता सहायकरथी गोकुल भण्डारीले भने, ''प्रविधिको प्रयोगले सुरक्षा मजबुत पारिएको थियो तर यस्ता हरेक महत्वपूर्ण कार्यक्रमबाट सुधार गरिनुपर्ने क्षेत्रहरू हामीले पहिचान गर्दै आएका छौं।''

सामान्यत: मोदीको 'कारकेड'मा स्थान विशेषको सुरक्षा रणनीति बनाइ सुरक्षाकर्मी परिचालित गरिएको थियो।

आलोचना

सिसिटिभी नभएका ठाउँमा भिडिओ उपलब्ध गराउने अस्थायी रुपमा प्रविधि जडान गरिएको नेपाल प्रहरीका अधिकारीले बताएका छन्।

मोदीको भ्रमणको क्रममा सडक आसपासका पैदलयात्रीको आवागमन र विमानस्थलको प्रयोग गर्दा अन्य उडानका यात्रुहरू प्रभावित भएको भन्दै सार्वजनिक आलोचना समेत भएका थिए।

विगतको नाकाबन्दीलाई लिएर मोदीविरुद्ध हुनसक्ने प्रदर्शनलाई रोक्न भन्दै प्रहरीले ठाउँठाउँमा 'रिजर्भ फोर्स' राखेको र सामाजिक सञ्जालको समेत निगरानी बढाएको थियो।

सम्बन्धित समाचार