'हमला एकै परिवारका सदस्यद्वारा'

  • 13 मे 2018
Indonesia attack तस्वीर कपीराइट Reuters

इण्डोनेसियाको दोस्रो ठूलो शहर सुरबायामा भएका गिर्जाघरहरूलक्षित शृखंलाबद्ध हमलाहरू एउटै परिवारका सदस्यहरूले गराएको त्यहाँको प्रहरीले बताएको छ।

ती हमलामा १३ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्। आफ्ना दुई छोरीसहित सो परिवारकी आमाले पहिलो गिर्जाघरमा आत्मघाती विस्फोट गराएकी थिइन्।

बाबु तथा दुई छोराहरूले अन्य दुई गिर्जाघरहरू लक्षित हमला गरेको त्यहाँका प्रहरी प्रमुखले बताएका छन्।

आइतवार भएका आत्मघाती बम हमलाहरू इण्डोनेसियामा सन् २००५ मा भएका हमला यताकै सबैभन्दा घातक हो।

इस्लामिक स्टेट लडाकु समूहले सो घटनाको जिम्मेवारी लिएको छ।

पाकिस्तान: गिर्जाघर हमलामा ‘आठ जनाको मृत्यु’

हमला

यसअघि इण्डोनेसियाको गुप्तचर निकायका एकजना अधिकारीले सुरुवातमा इस्लामिक स्टेटबाट प्रेरित भएको जेएडी नामक समूहले ती हमलाहरू गराएको हुनसक्ने आशंका गरेका थिए।

सो परिवारले सिरियामा इस्लामिक स्टेटसँग समय बिताएको हुनसक्ने विवरणहरूमा संकेत गरिएको छ।

सो परिवारका बाबुले विस्फोटक पदार्थले भरिएको कार एउटा गिर्जाघरको परिसरभित्र लगेर जोताएर विस्फोट गराएका थिए।

आमा र उनका ९ तथा १२ वर्षीया दुई छोरीहरूले शरीरमा विस्फोटक पदार्थ बाँधेका थिए र अर्को गिर्जाघरमा आत्मघाती विस्फोट गराएका थिए।

त्यस्तै स्यान्टा मरिया क्याथोलिक गिर्जाघरमा सो परिवारका १६ तथा १८ वर्षीय छोराहरू मोटरसाईकल चढी प्रवेश गरेका थिए र आफूहरूको साथमा रहेको विस्फोटक पदार्थ विस्फोट गराएका थिए।

कायरोमा गिर्जाघरमा विष्फोट- कैयौंको मृत्यु

क्रुर

पहिलो हमला स्थानीय समयअनुसार बिहान साढे सात बजे भएको थियो भने दुई अन्य हमलाहरू पाँच-पाँच मिनेटको फरकमा गराइएको प्रहरीले जकार्ता पोस्ट समाचारपत्रलाई बताएको छ।

टेलिभिजनमा देखाइएका दृश्यहरूमा एउटा गिर्जाघरको प्रवेशद्वारमा भग्नावशेष छरपस्ट भएको देख्न सकिन्छ।

हमला भएको एउटा स्थल पुगेका इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सो हमलालाई क्रुर भनी व्याख्या गरेका छन्।

हमलाकारीहरूको संजाललाई खोज्न तथा तोड्न प्रहरीलाई आदेश दिइसकिएको पनि उनले बताएका छन्।