दुवै खुट्टा नभएका आरोही सगरमाथा शिखरमा

  • 14 मे 2018
सगरमाथा तस्वीर कपीराइट Reuters

यसपालि वसन्त ऋतुमा आरोहणको क्रम सुरु भएसँगै दुवै खुट्टा नभएका एक चिनियाँसहित ५० जनाभन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको एक अधिकारीले बताएका छन्।

दुवै खुट्टा नभएका चिनियाँ पर्वतारोही सिया बोयूले सोमवार बिहान सगरमाथाको सफल आरोहण गरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका एक अधिकारीले बताए।

उनी नेपाली मोहडाबाट सगरमाथाको शिखर पुग्ने पहिलो 'डबल एम्पुटी' भनिने दुवै खुट्टा नभएका आरोही हुन्।

यसअघि सन् २००६ मा न्यूजिल्यान्डका मार्क इङ्ग्लिशले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेका थिए।

सफलता

आइतवार नेपाली टोलीले शिखरको बाटो खोलेलगत्तै सिया बोयूसहित ५० जनाभन्दा बढी आरोहीले सगरमाथाको शिखर चुमिसकेको सगरमाथा आधार शिविरस्थित पर्यटन मन्त्रालयका प्रतिनिधि ज्ञानेन्द्र श्रेष्ठले बीबीसीलाई बताए।

उनले भने, "सिया र अरू करिब ५० जनाले सगरमाथा चढेको खबर आएको छ। अहिले उनीहरू साउथ कोलको बाटो तल झरिरहेका छन्।"

चालीस वर्षअघि हिउँको चिसोका कारण सियाको दुवै खुट्टा नचल्ने अवस्थामा पुगेको थियो। पछि क्यान्सर रोगका कारण उनले दुवै खुट्टा गुमाउन पुगे।

तर उनी अविचलित रहे। उनले सगरमाथा आरोहण गर्ने योजना परित्याग गरेनन्।

तयारी

सन् २०१५ मा भूकम्पले उनको सगरमाथा आरोहण गर्ने योजनालाई प्रभावित तुल्यायो।

छ महिनाअघि नेपाल सरकारले दुवै खुट्टा नभएका आरोहीलाई आरोहण गर्न नदिने नियम ल्याएको थियो।

पछि अदालतले त्यो नियम कार्यान्वयन नगर्न आदेश दिएपछि सिया सगरमाथा आरोहणको तयारीमा जुटे।

उनी अन्तत: सफल भए। सिया र उनका आरोहण सहयोगी सोमवार बिहान ८.३० बजेतिर सगरमाथाको शिखर पुगेको श्रेष्ठले बताए।

सम्बन्धित सामग्री