एउटा मात्रै इन्जिन भएका विमान सञ्चालनबारे प्रश्न

  • 17 मे 2018
कार्गो विमान तस्वीर कपीराइट Nepal Army

विकट पहाडी भूबनोट भएको नेपाली आकाशमा एकल इन्जिन भएका विमानमा प्राविधिक गडबडी भएमा आपत्कालीन अवतरण जोखिमपूर्ण हुने गरेको अधिकारीहरूको भनाइ छ।

एउटा मात्र इन्जिन भएको मकालु एयरको हवाई जहाज बुधवार बिहान सिमिकोट नजिकै दुर्घटनामा परेपछि त्यस्तो खाले विमानको खरिद रोक्ने तथा भएका विमानको उडान बन्द गर्न सकिने नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले बताएका छन्।

पहाडी क्षेत्रमा उड्दा एकल इन्जिन भएका विमानमा प्राविधिक गडबडी भएमा आपत्कालीन अवतरण जोखिमपूर्ण हुने गरेको अधिकारीहरूको भनाइ छ।

तीन वर्षअगाडि काष्ठमण्डप एयरको जहाज दुर्घटनामा परेपछि सरकारले एउटा मात्र इन्जिन भएको जहाजमा यात्रु ओसार्न प्रतिबन्ध लगाएको थियो।

मुद्दा

विमान सेवा कम्पनीहरूले त्यस्तो प्रतिबन्धविरुद्ध मुद्दा हालेपछि एउटा इन्जिन भएको विमानलाई मालसामान ढुवानी अर्थात् कार्गो र भाडामा लिएर यात्रु बोक्नका लागि मात्र स्वीकृति दिएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक भेषराज सुवेदीले एउटा इन्जिन भएको जहाज किन्न र उडाउन निरुत्साहित गर्ने नीति सरकारको रहेको बताए।

उनले भने, "(एकल इन्जिन भएका जहाजलाई) निरुत्साहित गर्ने हाम्रो नीति हो। भएका जहाजहरूलाई पनि कसरी हटाउने वा बन्द नै गर्ने सोच बनाइरहेका छौँ।"

तस्वीर कपीराइट CAAN

पहाडी नेपालमा खासगरी दुर्गम पहाडी र हिमाली जिल्लाहरूमा कार्गो र 'चार्टर्ड' गरेर यात्रु ओसार्ने काम हाल एउटा इन्जिन भएको जहाजले गर्दै आएको छ।

समथर मैदानमा इन्जिनले काम गरेन भने पनि सुरक्षित अवतरण गर्न सकिने अवस्था विरलै उपलब्ध हुने प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल बताउँछन्।

समस्या कहाँ?

तर वरिष्ठ क्याप्टेन वाईके भट्टराई समस्या एकल इन्जिन भएको जहाजमा नभएको बताए।

उनको भनाइ छ, "निजी अपरेटरहरूले सुरक्षाको नाममा भने अलिकति सम्झौता नै गरेको देखिन्छ। त्यसले गर्दा दुर्घटना हुने हो। एकल इन्जिन कहिले पनि समस्या हुँदैन। त्यस्तो जहाज विश्वभरि उडेकै छन्।"

नेपालमा मकालु एयरको एउटा इन्जिन भएका तीन वटा सेस्ना नामक विमानले सेवा प्रदान गर्दै आएको थिए।

तर बुधवार एउटा जहाज दुर्घटनामा परेपछि एकल इन्जिन जहाजको सङ्ख्या अब दुई वटामा झरेको बताइएको छ।