भारत: कर्नाटकमा किन विधायकहरूलाई लुकाइँदैछ?

  • 18 मे 2018
कर्नाटक तस्वीर कपीराइट Getty Images
Image caption कैयौं विधायकहरूलाई अन्तिममा यही बस चढेको देखिएको थियो।

भारतको दक्षिणी राज्य कर्नाटकमा यसै हप्ता सम्पन्न चुनावमा स्पष्ट बहुमत कसैले नपाएपछि दोस्रो र तेस्रो स्थानमा रहेका कांग्रेस र जेडी (एस) ले मिलेर गठबन्धन सरकार बनाउने भनेका थिए।

तर राज्यका राज्यपालले पहिलो स्थानमा रहेको तर एक्लै बहुमत नपुगेको भाजपालाई नै सरकार बनाउन आमन्त्रण गरे। बीएस येदियुरप्पाले मुख्यमन्त्रीका रूपमा शपथ पनि लिए।

त्यसबाट क्रुद्ध कांग्रेस र जेडी (एस) ले अदालतको ढोका ढक्ढकाएका थिए।

सर्वोच्च अदालतले शनिवार साँझसम्म भाजपालाई विधानसभामा बहुमत प्रमाणित गर्न आदेश दिएको छ।

कहाँ लुकाइए विधायक?

कर्नाटकको चुनावमा भाजपालाई १०४ सिट प्राप्त भएको छ भने कांग्रेसले ७८ स्थानमा जितेको छ। जेडी (एस) ले ३८ सिट पाएको छ। कांग्रेस र जेडी (एस) ले मिलेर सरकार बनाउने भनेका छन्। बहुमतका लागि आवश्यक सङ्ख्या ११२ हो। कांग्रेस र जेडी (एस) मिल्दा त्यो सङ्ख्या पुग्छ।

तर राज्यपालले अल्पमतको सरकार बनाउन भाजपालाई आमन्त्रण गरेपछि ती दुई दल सावधान भएका छन्।

कतै आफ्ना विधायकलाई लोभ्याएर तान्ने हो कि भन्ने डरले उनीहरूले आफ्ना विधायकलाई गोप्य स्थलहरूमा लुकाएर राखिएको बताइन्छ। तिनलाई ठ्याक्कै कहाँ राखिएको छ भन्ने स्पष्ट छैन।

'हर्स ट्रेडिङ' वा सांसद किनबेच हुनसक्ने शङ्का गर्दै ती दलले आफ्ना विधायकलाई विलासी भोल्भो गाडीमा राखेर सहरभन्दा निकै परका रिजोर्टहरूमा राखेको बताइएको छ। भोल्भो बसमा राखिएका दृश्यहरू टेलिभिजन च्यानलहरूले देखाएका छन्।

जेडी (एस) का नेता एचडी कुमारास्वामीले करिब ३२ जना विधायकलाई भाजपाले प्रतिविधायक डेढ करोड डलरका दरले लोभ्याएको आरोप लगाएका छन्।

यसैबीच हल्ला पनि निकै चलेका छन्।

केही रिपोर्टले कांग्रेस विधायकलाई हैदराबाद लगिएको अनि जेडी (एस) का विधायकलाई केरला लगिएको जनाएका छन्। साथै केही विधायक 'हराइरहेको' भन्ने जस्ता अपुष्ट चर्चा समेत चलेका छन्।

सम्बन्धित सामग्री