नेपाल: होला त पाँच वर्षमा प्रतिव्यक्ति आय दोब्बर?

  • 22 मे 2018
प्रधानमन्त्री र राष्ट्रपति तस्वीर कपीराइट RSS

सरकारले नेपालीको औसत प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर बनाउने लक्ष्य सार्वजनिक गरेको छ।

राष्ट्रपतिले संसद्‍मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममार्फत उक्त घोषणा गरिएको हो।

तर अर्थविद्हरूले उक्त लक्ष्य सजिलो नरहेको टिप्पणी गरेका छन्।

नेपालको आफ्नै लगानीबाट त्यो सम्भव नरहेको उनीहरूको ठम्याइ छ।

'इतिहास रच्ने'

तस्वीर कपीराइट RSS

अर्बौं डलर विदेशी लगानी भित्र्याउन सकेमात्र त्यो सम्भव हुने बताउँदै अर्थ मामिलाका जानकार सुजीव शाक्य भन्छन्, "आय वृद्धि भनेको पनि चक्रवर्ती ब्याज जस्तै हो, त्यसैले पाँच वर्षमा एक रुपैयाँलाई दोब्बर बनाउन आर्थिक वृद्धिदर झण्डै १५ प्रतिशत हुनुपर्छ। त्यसको योजना हुनुपर्छ।"

सरकारले १० वर्षभित्र नेपाललाई मध्यम स्तरको आय भएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ।

एक दशकभित्रै विश्वसामु समृद्धिसहितको नेपालको सम्मानित परिचय स्थापित गर्ने राष्ट्रिय संकल्प गरेको सरकारले आउँदो आर्थिक वर्षलाई समृद्धिको इतिहास रच्ने आधार वर्ष हुने बताएको छ।

सरकारको लक्ष्य घोषणा गर्दै राष्ट्रपति भण्डारीले भनिन्, "आगामी आर्थिक वर्षमा दोहोरो अंक नजिक र पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गरिनेछ। नेपालीको हालको प्रति व्यक्ति आय पाँचवर्षमा दोब्बर बनाइनेछ।"

कृषि, ऊर्जा, उद्योग, यातायात, भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन र शहरी विकासलाई आर्थिक वृद्धिको संवाहकको रुपमा सरकारले ठम्याएको छ।

के हो प्रतिव्यक्ति आय?

प्रतिव्यक्ति आयलाई देशका नागरिकको औसत समृद्धिको मापकका रूपमा हेरिन्छ। यसलाई प्राय: अमेरिकी डलरमा नापिन्छ।

प्रतिव्यक्ति आयको गणना गर्न कुल राष्ट्रिय आयलाई कुल जनसङ्ख्याले भाग गरिन्छ।

हालै नेपालको केन्द्रीय तथ्याङ्क विभागले नेपालीहरूको प्रतिव्यक्ति आय एक हजार अमेरिकी डलर नाघेको विवरण सार्वजनिक गरेको थियो।

एक वर्षअघिसम्म नेपालीको प्रतिव्यक्ति आय झन्डै साढे आठ सय डलर रहेको बताइएको थियो।

दुई देशको आर्थिक स्थितिको तुलना गर्दा ती देशको प्रतिव्यक्ति आय हेरिन्छ। देशको कुल राष्ट्रिय उत्पादन र आयमा वृद्धि हुँदा प्रतिव्यक्ति आय पनि स्वत: बढ्छ।

लोकप्रियता

तस्वीर कपीराइट RSS

तर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गर्दै भनेका छन्, "पाँच वर्षसम्म निरन्तर दोहोरो अंकको वृद्धिदर भए मात्र आय दोब्बर होला। सरकारले लक्ष्य ठिकै तोक्यो तर त्यो हासिल गर्ने नीति आएन।"

सरकारले अर्थतन्त्रलाई उत्पादनमुखी, रोजगारी प्रवर्द्धक, आत्मनिर्भर र निर्यातमूलक बनाउन अर्थतन्त्रको संरचनामा परिवर्तन गरिने घोषणा गरेको छ।

तर त्यसबारे विस्तृत चर्चा गरिएको छैन।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले प्राथमिकता ठम्याउन नसकेकाले लक्ष्य असम्भव भएको टिप्पणी गरेको छ।

कांग्रेस नेता मीनेन्द्र रिजालले सरकारको नीति तथा कार्यक्रम लोकप्रियताको निम्ति परम्परागत ढङ्गले ल्याइएको टिप्पणी गरे।

तर सरकारले 'लोकप्रियताको निम्ति नभइ जनताका लागि काम गरेर लोकप्रियता हासिल गर्ने' बताएको छ।