सुन तस्करी: मुख्य अभियुक्त गोरेले 'खोले थप रहस्य'

चूडामणि उप्रेती गोरे

तस्बिर स्रोत, RSS

विदेशबाट लामो समयदेखि नेपालमा सुन तस्करी गर्दै आएको अभियोग लागेका गोरे भनिने चूडामणि उप्रेतीले सुन तस्करीमा थप व्यक्ति पनि संलग्न रहेको बयान दिएको अधिकारीहरूले बताएका छन्।

सुन तस्करीको छानबिनका लागि सरकारले गठन गरेको अनुसन्धान टोलीलाई उनले बयानका क्रममा थप नाम दिएको र त्यसबारेमा तथ्यगत विश्लेषण गरिने समितिका संयोजक ईश्वरराज पौडेलले बीबीसीलाई बताएका छन्।

गोरेको बयानले हालसम्म सुन तस्करीमा भइरहेका अनुसन्धान सही दिशामा गएको पुष्टि भएको र थप अनुसन्धानलाई सहज बनाइदिएको उनको भनाइ छ।

यद्यपि उनले अनुसन्धानका क्रममा रहेकाले अभियुक्त गोरेले दिएका थप नामहरू सार्वजनिक गर्न चाहेनन्।

तस्बिरको क्याप्शन,

गत वर्ष भन्सार छली तिब्बतको केरुङबाट अवैध तरिकाबाट ल्याइएको ८८ केजी सुन काठमाण्डूमा बरामद भएको थियो

पौडेलले भने, "कुन आधारमा ती मानिसको नाम लिइएको छ, त्यसको विभिन्न कोणबाट विश्लेषण गर्छौँ। त्यसपछि थप प्रमाण जुटेमा उनीहरुलाई पनि बयानका लागि ल्याउँछौँ।"

खोजबिन

पछिल्लो पल्ट चर्चित बनेको साढे ३३ केजी सुनको तस्करीको घटनाबाट सुरु भएको अनुसन्धान झन्डै तीन हजार आठ सय केजी सुनको तस्करीसम्म पुगेको र थप फरारलाई समात्न संयन्त्र परिचालन गरिएको छानबिन समितिले जनाएको छ।

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन,

चूडामणि उप्रेतीलाई पक्राउ गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा लगिँदै।

मन्त्रिपरिषद्ले छानबिनको लागि जेठ मसान्तसम्मको थप समय दिएको उक्त समितिले तोकिएको समयमै काम सक्ने गरि अनुसन्धान भइरहेको जनाएको छ।

सङ्गठित रूपमा सुनको अवैध चोरीनिकासी, पैठारी र अपहरण तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोपमा सात बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा चलिरहेको छ।

मुद्दा चलाइएकाहरूमा बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सन्जेल र प्रहरी जवान विष्णुबहादुर खड्का र पूर्वडीआईजी गोविन्दप्रसाद निरौला छन्।

तर एसएसपी श्याम खत्री भने फरार रहेको बताइन्छ।