आईपीएलले धेरै कुरा सिकायो: सन्दीप लामिछाने

सन्दीप लामिछाने

भारतको चर्चित व्यावसायिक ट्वेन्टी-ट्वेन्टी क्रिकेट लिग प्रतियोगिता आईपीएलमा खेलेर फर्किएका सन्दीप लामिछानेले आफ्नो आत्मबल बढेको र धेरै कुरा सिक्न पाएको बताएका छन्।

विमानस्थलमा उनलाई राष्ट्रिय टोलीका कप्तान पारस खड्का तथा उपकप्तान ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए।

सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, "यो प्रतियोगितामा विश्वकै उत्कृष्ट खेलाडीहरूसँग खेल्न पाउँदा मेरो आत्मबल निकै बढेको छ। धेरै कुरा सिक्न पाएको छु," उनले भने।

दिल्ली डेयरडेभिल्सले आईपीएलका सुरुका खेलहरूमा यी १७ वर्षीय नेपाली बलरलाई नखेलाएको भए पनि अभ्यासका क्रममा ठूला खेलाडीहरूसँग आफूले सिक्न पाएको उनले बताए।

तस्बिर स्रोत, Twitter

"अर्को सिजनमा अझ राम्रो गर्ने प्रयास गर्नेछु," उनले भने।

अनुभव

यसपालि सन्दीपलाई दिल्ली डेयरडेभिल्स क्लबले तीन वटा खेलमा मैदानमा उतार्‍यो।

लिगबाट उनको क्लब त बाहिरियो तर उनले ती खेलमा कुल पाँच विकेट लिएर आफ्नो कौशल प्रदर्शन गर्ने मौका पाए।

त्यसमाथि विश्वकै नामी ब्याट्सम्यानहरू विराट कोहली, एबी डिभिलियर्स तथा महेन्द्रसिंह धोनीविरुद्ध उनले बलिङ् गर्ने मौका पनि पाए।

उनले पाँच खेलाडीको विकेट लिएका थिए जसमा भारतका चर्चित ब्याट्सम्यानहरू पार्थिव पटेल र सुरेश रैना पनि रहेका छन्।