राष्ट्रकवि घिमिरे थप उपचारका लागि भारतमा

  • 23 मे 2018
माधव घिमिरे

विगत पाँच महिनादेखि अस्वस्थ रहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप परीक्षण र उपचारका लागि भारत लगिएको छ।

त्यहाँ मेदान्त अस्पतालमा उनको उपचार गरिने घिमिरेकी छोरी उषा अधिकारीले बताइन्।

बुधवार अपराह्ण उनान्सय वर्षीय घिमिरेसँगै उनका जेठा छोरा इन्दिबर र एक चिकित्सक पनि नयाँ दिल्ली उडे।

के भएको हो?

निरन्तर दुई दिन आन्तरिक रक्तस्राव भएर दिसामा रगत देखिएपछि घिमिरेलाई १३ दिन अघि काठमाण्डूस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो।

उनको उपचारमा संलग्न चिकित्सक डा. विवेक शर्माका अनुसार अस्पलाल ल्याइँदा घिमिरे थकित देखिन्थे।

इन्डोस्कपी, कोलोनोस्कपीलगायत विभिन्न परीक्षण गरियो।

तस्वीर कपीराइट RSS
Image caption गत वर्ष भएक स्थानीय निर्वाचनमा मतदान गर्दै राष्ट्रकवि घिमिरे

शर्मा भन्छन्, "परीक्षणले ठूलो आन्द्रामाथितिरको भागबाट रक्तस्राव भएको देखियो।"

पछि सीटी स्क्यान र सीटी एन्जिओग्राफी आदि पनि गरियो।

तर रक्तस्राव नरोकिएको र ठ्याक्कै कहाँबाट भएको हो त्यो पनि पत्ता नलागेकाले थप परीक्षण र उपचारका लागि उनलाई मेदान्त अस्पताल लैजान सिफारिस गरिएको डा शर्माले बीबीसीलाई बताए।

यसअघि घिमिरेलाई प्रोस्टेट र छातीको समस्या थियो।

सहयोगको वचन

केही दिनअघि घिमिरेलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल गएका थिए।

उनले राष्ट्रकविको उपचारमा सरकारले सहयोग गर्ने वचन दिएको छोरी उषाले बताइन्।

मन्त्रिपरिषद्को निर्णयानुसार गत फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको उपाधिबाट सम्मानित गरेकी थिइन्।

सम्मान ग्रहण गर्न जाँदा पनि उनी अस्वस्थ नै थिए।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
जीवनको उत्तरार्द्धमा उनी सकारात्मकता र उत्साहका कविता लेखिरहेका छन्।

सम्बन्धित सामग्री