नेपाल वायुसेवा निगमले पाएन नयाँ विमान उडाउन चालक

  • 24 मे 2018
वायु सेवा निगम

नेपाल वायुसेवा निगमले ल्याउन प्रयास गरेको तीन चिनियाँ विमान चालकहरूलाई नागरिक उड्डयन प्राधिकरणले अनुमति दिन नमिल्ने बताएपछि अब अन्य देशबाट पाइलटको खोजी गरिने निगमले जनाएको छ।

चिनियाँ विमान चालकले अनुमति नपाएपछि चीनबाट ल्याएर विगत तीन महिनाभन्दा लामो समयदेखि थन्किएका विमानहरूको उडान अनिश्चित बनेको छ।

एकजना पूर्व पाइलट भने यी विमानहरू खरिद गर्नुअघि नै सरकारले पाइलट लगायत विमानका सामानहरूको सहज उपलब्धतालगायतका विषयलाई ख्याल नगरेकाले यस्ता समस्याहरू देखापरेको बताउँछन्।

नेपाल वायु सेवा निगमले चीनबाट ल्याएका तीनवटा विमानमा अहिले केही प्राबिधिक समस्याहरू देखिएको बताइए पनि खासगरी पाइलट अभावका कारण तिनीहरू थन्किएको बताइन्छ।

अस्वीकृत

चिनियाँ पाइलटहरूलाई नेपालमा वाइ-१२ विमानहरू उडाउने अनुमति दिन नेपाल वायु सेवा निगमले नागरिक उड्डयन प्राधिकरणमा उनीहरूको विवरण बुझाएको थियो।

तर अनुमतिका लागि बुझाइएको निवेदन अस्वीकृत भएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए।

उनले भने, "यो विमानहरू चलाउने पाइलटहरू हामीलाई अंग्रेजी बोल्ने चाहिन्छ। त्यो चिनियाँहरू अंग्रेजीहरू बोल्ने फेला पारेको तर उनीहरूको लाइसेन्सको किसिम फरक खालको भयो। प्राधिकरणले हामीले विवरण पठाएका चिनियाँ पाइलटहरूको लाइसेन्स अस्वीकृत भयो भनेर खबर पठायो। "

उनीहरूलाई अनुमति दिन नमिल्ने प्राधिकरणले बताएसँगै अब श्रीलंकालगायत अन्य मुलुकहरूबाट पनि वाई-१२ विमान चलाउन जान्ने पाइलटको खोजी गरिने निगमले बताएको छ।

समस्या

सरकारले २०६९ सालमा चीनबाट दुईवटा एम-६० र चारवटा वाई-१२ ल्याउने निर्णय गरेको थियो।

पटकपटक गरी ल्याइएका ती विमानहरूमा पाइलटको अभाव हुने गरेको लामो समयदेखि बताउँदै आएको छ।

तर एकजना पूर्व पाइलट वाईके भट्टराईको विचारमा समस्या ती विमानहरू उडाउन पाइलटहरूले नखोज्नु पनि हो।

उनले भने, "हाम्रो त्यतिबेलाको व्यवस्थापनले मुख खोलेर सरकारलाई हामीलाई यो विमान काम लाग्दैन भनेर पनि भन्न सक्दैनन्। जे विमान आए पनि चलाइदिन्छु भन्छन् अनि चलाएको खोइ त? न विमान चालक पाइन्छ।"

यसअघि नै चीनबाट ल्याएका यी विमानहरू थन्किएर बसेका बेला अब फेरि वाइड बडि पनि त्यहाँबाट ल्याउन लागेको निगमले जनाएको छ।

तर विगतबाट पाठ सिकेर दक्ष पाइलटको उपलब्धता र विमानका सामग्रीहरू पाउन सकिने लगायतका विषयमा ध्यान दिइनुपर्ने जानकारहरू बताउँछन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
काभ्रेमा वैकल्पिक विमानस्थल निर्माण कसरी सम्भव होला?

सम्बन्धित सामग्री