उत्तर कोरिया: परमाणु अस्त्र परीक्षणस्थल 'नष्ट'

  • 24 मे 2018
पुङ्गेरी तस्वीर कपीराइट Reuters
Image caption विस्फोटअघि देखिएको पुङ्गेरीको भूउपग्रहबाट खिचिएको तस्बिर

उत्तर कोरियाले उसको एकमात्र परमाणु परीक्षणस्थलमा रहेका सुरुङहरू विस्फोट गरी नष्ट पारिदिएको जस्तो देखिएको छ।

पुङ्गेरीमा पुगेका विदेशी पत्रकारहरूले परीक्षणस्थलमा आफूहरूले ठूलो विस्फोट भएको देखेको बताएका छन्।

क्षेत्रीय तनाव कम गर्ने उद्देश्यका साथ उक्त परीक्षणस्थल नष्ट गरिएको हुनसक्ने ठानिएको छ।

दक्षिण कोरिया र अमेरिकासँगको कूटनीतिक सम्बन्ध सुधारका निम्ति उक्त स्थल नष्ट गर्ने प्रस्ताव उत्तर कोरियाले यस वर्षको सुरुमा गरेको थियो।

तर वैज्ञानिकहरूले चाहिँ सन् २०१७ को सेप्टेम्बरमा गरिएको पछिल्लो परीक्षणका बेला नै उक्त स्थलमा आंशिक क्षति पुगेको र प्रयोग गर्न नमिल्ने भएको बताएका थिए।

देशको उत्तरपूर्वी पहाडी इलाकामा रहेको पुङ्गेरी स्थललाई नष्ट पारेको समारोहमा स्वतन्त्र पर्येवेक्षकहरूलाई उपस्थित हुन दिइएको थिएन।

दृश्य

करिब २० जना छानिएका अन्तर्राष्ट्रिय पत्रकारहरूको उपस्थितिमा शृङ्खलाबद्ध विस्फोट गराइ सुरुङहरू नष्ट पारिएका थिए।

बिहान दुईवटा र अपराह्ण चार चोटि विस्फोट गराइएका थिए।

स्काइ न्यूजका टम चेशायर पनि सो समारोहमा उपस्थित थिए।

उनका अनुसार सुरुङका प्रवेश विन्दुहरूमा तारैतार बिच्छाइएको थियो।

स्काइ न्यूजले उनलाई उद्धृत गर्दै भनेको छ, उनीहरूले पहाड चढे र करिब पाँच सय मिटर परबाट विस्फोटको दृश्य हेरे।