ट्रम्पको निर्णयप्रति उत्तर कोरिया दु:खी

तस्बिर स्रोत, EPA
उत्तर कोरियाले आफ्ना नेता किम जङ अनसँगको शिखर बैठक रद्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति दु:ख व्यक्त गरेको छ।
उत्तर कोरियाको सरकारी समाचार संस्थाले उक्त निर्णय विश्वको चाहना विपरीत भएको बताएको छ।
उसले उक्त शिखर बैठकको आयोजनाका लागि किम जङ अनले ठूलो प्रयास गरेको उल्लेख गर्दै वासिङटनसँगका मतभेदहरु, उसकै शब्दमा, "जहिलेपनि" र "जसरीपनि" समाधान गर्न प्योङयाङ इच्छुक रहेको उल्लेख गरेको छ।
शिखर बैठक स्थगनको खबरपछि अन्तर्राष्ट्रिय समुदायले पनि निराशा व्यक्त गरेका छ र राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले गहिरो चिन्ता व्यक्त गरेका छन्।
आपत्कालीन
दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले गहिरो खेद व्यक्त गर्दै आफ्ना उच्च सुरक्षा अधिकारीहरूलाई आपत्कालीन बैठकका लागि बोलाएका छन्।
शिखर बैठक स्थगन गर्ने निर्णय लिएका राष्ट्रपति ट्रम्पको विपक्षीहरूले अमेरिकी संसदमा चर्को आलोचना गरेका छन्।
डिमोक्र्याटिक दलकी नेता न्यान्सी पेलोसीले उत्तर कोरियासँग ट्रम्पले गम्भीर रूपमा व्यवहार गर्न नसकेको बताइन्।
तस्बिर स्रोत, Getty Images
तर राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीहरूले उत्तर कोरियाका प्रतिनिधिहरू सिंगापुरमा अघिल्लो साता शिखर बैठकको तयारीका लागि हुने भनिएको बैठकमा नआएको र प्योङयाङले आफ्नो परमाणु परीक्षणस्थल नष्ट गर्ने क्रममा अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूलाई उपस्थित हुन नदिएको टिप्पणी गरेका छन्।
बिहीवार विदेशी पत्रकारहरूको एउटा समूहलाई उक्त भूमिगत परिक्षणस्थलसम्मको प्रवेश सुरुङ नष्ट गर्न आयोजित कार्यक्रममा उपस्थित गराइएको थियो।