द्रुतमार्ग: विवाद समाधान गर्न नेपाली सेनाको आग्रह

  • 25 मे 2018
खोकना

तराईलाई राजधानीसँग जोड्ने द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको झन्डै एक वर्ष पुग्न लाग्दा पनि उक्त मार्गको आरम्भ विन्दुका बारेमा टुङ्गो लाग्न सकेको छैन।

ललितपुरको खोकनालाई आरम्भ विन्दु मानेर सेनाले निर्माण कम्पनीलाई जिम्मा दिएको थियो। तर धार्मिक स्थल परेको तथा मुआब्जा विवादका कारण निर्माणको काम हुन नसकेपछि विभिन्न विकल्पहरूमा छलफल भइरहेको सेनाले जनाएको छ।

खोकनाको विकल्प

उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले भने खोकनामा विवाद देखिएपछि फसिडोललाई आरम्भ विन्दु मान्नु पर्ने प्रस्ताव अघि सारेका छन्।

Image caption द्रुतमार्गका केही क्षेत्रमा भने प्रारम्भिक काम भइरहेका छन्।

गत वर्षको साउन अन्तिम सातामा सरकारले औपचारिक रूपमा द्रुतमार्ग नेपाली सेनालाई हस्तान्तरण गरेसँगै सेनाले उक्त मार्गलाई विभिन्न खण्डमा विभाजन गरेर निर्माणको काम अघि बढाएको थियो।

जसअनुसार सबैजसो खण्डमा काम भइरहे पनि द्रुतमार्गको आरम्भ मानिएको खोकना क्षेत्रमा भने काम हुन सकेको छैन।

त्यहाँ रहेको सिकाली मन्दिर क्षेत्रबाट सडक लग्न नहुने र जग्गाको मुआब्जा बढाउनु पर्ने माग स्थानीय बासिन्दाहरूको छ।

हरिगोविन्द महर्जनले भने, "संस्कृति त बचाउनु परिहाल्यो। यो संस्कृति बचाउन नसके हामी मात्रै बसेको काम के भयो? मन्दिर क्षेत्रबाट त हुँदैन, वरपरबाट लैजानु पर्छ।"

अर्का स्थानीय बासिन्दा हीरानारायण डंगोलले चाहिँ जग्गाको मुआब्जाबारे असन्तुष्टि रहेको बताए।

"चलनचल्तीको हिसाबले धेरै नै कम छ, यसलाई बढाउनु पर्छ," उनले भने।

सेनाको आग्रह

Image caption विवाद भएको क्षेत्रमा रक्षामन्त्री ईश्वर पोखरेलले स्थानीयबासीसँग कुराकानी गरेका थिए

निर्माणको कामलाई सुरु गर्नका लागि द्रुतमार्गको रेखाङ्कनका बारेमा विभिन्न विकल्पहरू सहित पटकपटक स्थानीय बासिन्दासँग छलफल गर्दा पनि काम अघि बढ्ने वातावरण नबनेको नेपाली सेनाको भनाइ छ।

विवाद समाधान नहुने देखेपछि उसले आरम्भ विन्दुकै बारेमा समेत नयाँ विकल्प सहितको प्रस्ताव अघि सारेको छ।

जसका बारेमा छिट्टै निर्णय हुनु पर्ने द्रुतमार्ग योजना प्रमुख योगेन्द्रबहादुर खाँणको भनाइ छ।

उनले भने, "नेपाली सेनालाई द्रुतमार्ग चार वर्षभित्र गुणस्तरीय रूपमा निर्माण सकेर सरकारलाई हस्तान्तरण गर्ने जिम्मा छ। अन्य क्षेत्रमा काम गरिरहेका छौँ। चाँडो निर्णय भए यहाँ पनि छिटो काम गर्न चाहन्छौँ।"

रक्षामन्त्री, उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने सङ्घ र प्रदेशका सांसदलगायत स्थानीय तहका जनप्रतिनिधि र नेपाली सेनाको टोलीले विवाद देखिएको सिकाली क्षेत्र र नयाँ प्रस्ताव गरिएको फसिडोलको शुक्रवार स्थलगत अध्ययन गरेको छ।

आरम्भ विन्दु र त्यसको रेखाङ्कनका बारेमा सरकारले कहिले निर्णय गर्छ त?

रक्षामन्त्री ईश्वर पोख्रेलले भने, "तुलनात्मक रूपमा सबैभन्दा राम्रो विकल्प खोज्ने हो। अहिले हामीले अनौपचारिक रूपमा हेरेका छौँ। कार्यक्षेत्रमा काम गर्ने सेनाबाट औपचारिक प्रस्ताव आएपछि प्रक्रियानुसार निर्णय लिन्छौँ।"

फसिडोललाई आरम्भ विन्दु मान्दा सिकाली मन्दिर क्षेत्रमा पनि असर नपर्ने र मुआब्जा विवाद पनि कम हुने भन्दै जनप्रतिनिधिहरू सहमत भइसकेको सांसद पम्फा भुसालले बताइन्।

त्यसो गर्दा पाँच किलोमिटरले द्रुतमार्गको दुरी घट्ने र त्यहाँबाट मूल सडकसम्म जोड्न सहायक मार्ग निर्माण गर्नु पर्ने उनको भनाइ छ।

तर खोकनाको विकल्प खोज्न नहुने र हाल देखिएका विवादलाई सरकारले सल्टाउनु पर्ने माग खोकनावासीको छ।

सम्बन्धित सामग्री