चेपाङको कथा: पास भए पनि उही कक्षामा पढ्नुपर्ने बाध्यता

  • 28 मे 2018
शिक्षा

चितवनको स्यामराङस्थित चेपाङ गाउँकी डिलमाया प्रजाले आजभन्दा २० वर्षअघि १५ वर्षको उमेरमा विद्यालय जान छोडिन्।

स्थानीय विद्यालयमा कक्षा पाँचसम्म मात्र पढाइ हुन्थ्यो। उत्तीर्ण भएको अरू दुई वर्ष उनी पाँच कक्षामै पढ्न जान्थिन्।

तर तीन वर्षसम्म एउटै कक्षामा उही किताब र उही पाठ पढ्दापढ्दा दिक्क भएर उनी फेरि गइनन्। अन्त पढ्न जाने अवसर पनि जुटेन।

"छ कक्षा भएको स्कूल जान चार घण्टा हिँड्नुपर्ने। अनि फेरि खोला तर्न, जङ्गलमा हिँड्न पनि गाह्रो। त्यसैले तीन वर्ष लगातार एउटै कक्षामा पढेर छोडेँ," वैशाखको उत्तरार्धमा उनले आफ्नो कथा सुनाइन्।

डिलमायाको पढ्ने धोको अझै मरेको छैन। घरव्यवहार र अरू परिबन्दमा परेर थप पढ्न नपाए पनि उनको भूमिका भने फेरिएको छ।

अहिले उनी टुकीको उज्यालोमा अरू गाउँलेहरूलाई बटुलेर आफूले जानेको सिकाउँछिन्। डिलमाया तिनै पाका विद्यार्थीलाई पढाउँछिन् र आफ्नो पढ्ने धीत मार्छिन्।

अभियान

Image caption बीस वर्षअघि पाँच कक्षासम्म पढ्दा आफूले सिकेका कुरा डिलमाया प्रजा अहिले आफ्ना विद्यार्थीलाई सिकाउँछिन्।

सरकारले चार महिनाका लागि 'निरन्तर शिक्षा अभियान' सञ्चालन गरेको छ।

'निरक्षर नागरिकलाई साक्षर र साक्षरलाई सक्षम' बनाउन भनी सञ्चालनमा ल्याइएको यो कार्यक्रमकी सहजकर्ताको रूपमा उनले गाउँलेलाई पढाउँछिन्।

दिनभरि घाँसदाउरा र मेलापात भ्याउनुपर्ने महिलाहरू साँझको भातभान्छापछि गाउँकै विद्यालयमा भेला हुन्छन्। तीमध्ये अधिकांश महिला छन्।

"म आफैँले पनि अक्षर मात्रै चिनेको हो र नेपाली किताब पढ्न सक्छु," सौर्य टुकीको मधुरो प्रकाशमा पढाइरहेका बेला उनले भनिन्, "त्यति शिक्षाको भरमा गाउँका छोरी, बुहारी, बहिनी र भाउजूलाई पढाउँछु। यसो गर्दा आफैँले पनि पढ्न पाउँछु।"

तस्वीर कपीराइट Binita Dahal

स्यामराङको कथा

चितवनको भण्डाराबाट भन्ज्याङ हुँदै चेपाङहरूको गाउँ स्यामराङ पुग्न पूरै एक दिन लाग्छ।

पहिला चार घण्टा गाडीको बाटो त्यसपछि पाँच घण्टा हिँडाइ।

महाभारत शृङ्खलामा पर्ने यो भेगमा हिँड्न पनि त्यति सजिलो छैन। कहीँ खोला तर्नुपर्छ, कहीँ जङ्गल छिचोल्नुपर्छ।

गाउँ पस्ने बितिक्कै पूरै जीउ नढाकिएका महिला र फाटेका जाँघे लगाएर खेल्दै गरेका निर्बोध बालबालिका देख्नु सामान्य नै हो।

Image caption उजेली चेपाङ पाँच कक्षामा तेस्रो वर्ष पढ्दैछिन्।

कतै कलिला युवतीहरू काखे नानी लिएर काममा जोतिँदै छन्। कतै शिरको कपाल महिनौँदेखि नसँगालेका वृद्धाहरू सुस्ताउँदै छन्।

यहीँबाट पल्लो डाँडामा देखिने कान्दा गाउँमा २०६७ सालमा विषालु च्याउ खाएर एउटै परिवारका आठ जनाले ज्यान गुमाएका थिए।

बाटो, बिजुली, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत सुविधा यी गाउँमा छैनन्। तर दुई वर्षअघि यो भेगका सबै गाउँलाई राप्ती नगरपालिकामा पारिएको घोषणा गरियो।

भूकम्पले भत्किएका घरहरूले जस्ताको टहरोसम्म पाएका छन्। भरपर्दो ओतको आशमै छन् गाउँलेहरू। जसोतसो अस्थायी बासमै गुजारा चलाएका छन्।

गाउँमा रहेको एउटै विद्यालयले पनि दुई वटा कक्षा कोठामा विद्यार्थी कोचेर पढाएकै छ।

भूकम्पले पुर्‍याएको क्षतिपछि अहिले बल्ल विद्यालयको जग हालिएको छ।

गारो लगाएर छानो हाल्न अझै कति वर्ष लाग्ने हो? अरूको आर्थिक सहयोगमा जग हाल्नै तीन वर्ष लागिसकेको विद्यालयसँग के जवाफ हुन्थ्यो!

आंशिक क्षति पुगेका दुई साना भवनका एउटा कोठामा एकदेखि तीन कक्षाका र अर्को कोठामा चार र पाँच कक्षाका केटाकेटीलाई सँगै राखेर पढाइन्छ।

तस्वीर कपीराइट Binita Dahal

उही नियति

डिलमायाका अनुसार २० वर्षअघि पनि विद्यालयको अवस्था यस्तै थियो।

प्राथमिक तहको पढाइ हुने मात्र हैन विद्यालयको भौतिक रूप र कक्षाकोठा पनि उस्तै छन्।

डिलमायाले पाँच कक्षामा तीन वर्षसम्म पढेर त्यसको तीन वर्षपछि बिहा गरिन्। अहिले उनी तीन सन्तानकी आमा हुन्।

जेठी छोरी उजेली अहिले पाँच कक्षामै तेहेर्‍याएर पढ्दै छिन्, कान्छी छोरी दोहोर्‍याएर।

छोरीहरू किन माथिल्लो कक्षामा पढ्दैनन् त?

"छ कक्षा भएको स्कूल टाढा छ। बीचमा खोला र जङ्गल छन्। त्यसैले तीन वर्षदेखि एउटै कक्षामा पढिरहेकी छु।" उजेलीको उत्तर पनि आफ्नी आमाको भन्दा भिन्न छैन।

राप्ती नगरपालिकाको लोथरस्थित स्यामराङ गाउँको मात्रै होइन यो समस्या त्यो भेगकै केटाकेटीको हो।

डिलमाया र उजेलीको कथा त दुई दशक अन्तरको मात्रै हो। उनीहरू पढेको विद्यालयका संस्थापक अध्यक्ष झ्याप्पुबहादुर चेपाङका अनुसार यो नियति पाँच दशकदेखि फेरिएको छैन।

विद्यालयको उमेर बढ्यो तर योग्यता बढेको छैन।

Image caption पाँच दशकअघि स्थापना भएको यो विद्यालयमा माध्यमिक तहको पढाइ हुँदैन।

आएको एउटै सकारात्मक परिवर्तन भनेको अहिले कक्षामा बालकहरू भन्दा बालिकाको सङ्ख्या बढी छ। कक्षा दोहोर्‍याउनेमा पनि छात्राहरू नै बढी छन्।

विद्यालय शिक्षालाई निरन्तरता दिन नपाउँदा बालविवाह जस्तो सामाजिक कुरीति ज्यूँ का त्यूँ रहने कुराहरू त छँदैछन्।

अपवाद

"हाम्रो विद्यालयमा यो वर्ष कक्षा पाँचमा २१ जना विद्यार्थी भर्ना भएका छन्। तीमध्ये १६ जना त दोहोर्‍याएरै पढिरहेका छन्," स्यामराङस्थित दुङवाङ राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक अतिबल प्रजाले भने।

"यो गाउँबाट छ कक्षामा पढ्न नजिकको विद्यालय भनेको वडा नम्बर १२ को गणेश माध्यमिक विद्यालय वा धादिङको पञ्चकन्या माध्यमिक विद्यालय हो। ती दुवै ठाउँमा जान चारपाँच घण्टा लाग्छ," प्रजाले भने, "बर्खामा खोला र बाटोमा पर्ने जङ्गल काटेर केटाकेटी गएनन् भन्ने त ठाउँ नै छैन।"

अतिबल आफैँ पनि यही गाउँका हुन्। तर अपवादका रूपमा उनले उच्च शिक्षा हासिल गरेका छन्।

एसएलसीसम्मको पढाइ सक्न उनले कहिले चार घण्टाको बाटो ओहोरदोहोर गरे त कहिले छिमेकी गाउँमा डेरा लिएरै बसे।

अहिले उनी आफैँ पढेको दुङ्गवाङ्ग राष्ट्रिय प्राथमिक विद्यालयमा प्रधानाध्यापक छन्।

'हामीले कसरी गर्ने?'

विसं २०२६ मै स्थापित सो विद्यालय मात्र हैन राप्ती महानगरपालिकाको वडा १३ का अधिकांश विद्यालयका विद्यार्थीले वर्षौंदेखि पाँच कक्षाबाट माथि जान पाएका छैनन्।

यो समस्या समाधानका लागि किन पहल नगरेको त?

प्रधानाध्यापक प्रजा भन्छन्, "पहल नगरेको होइन। हामीले पटकपटक यो कुरा राखेका छौँ। माथिल्लो कक्षा पढाउन हामीसँग शिक्षकको दरबन्दी छैन। सरकारले दरबन्दी नदिई र छ कक्षामाथि प्रबन्ध नगरिदिँदा हामीले कसरी गर्ने?"

अहिले यो विद्यालयमा उनीसहित दुईजना शिक्षक र एकजना शिक्षिका छन्।

उनीहरू तीनै जनाले मिलेर एकदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई दुइटा कोठामा राखेर एकैपटक कक्षा लिँदै पढाउँछन्।

शिक्षिका विमला गुरुङ भन्छिन्, "परिवर्तन भनेको शिक्षाले नै ल्याउनेरहेछ। म १२ वर्षदेखि यही गाउँमा बसेर पढाउँदै आएकी छु। मैले गाउँलेहरूलाई १२ वर्षअघि जस्तो अवस्थामा देखेको थिएँ उनीहरूको अवस्था अहिले पनि खासै केही परिवर्तन भएको देख्दिनँ।"

Image caption विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष झ्याप्पुबहादुर चेपाङ विद्यालयको स्तरोन्नति गर्न पञ्चायतकालदेखि नै कसैले चासो नदिएको बताउँछन्।

तर यस्तो परिवर्तन...

हो, यो गाउँमा उनी आउँदा सरसफाइ थिएन। अशिक्षा थियो। स्वास्थ्य चौकी थिएन। बालविवाह थियो।

र, अहिले पनि सरसफाइ छैन। अशिक्षा छ। स्वास्थ्य चौकी छैन। बालविवाह छ।

एउटा परिवर्तन आयो। गाउँका केटाहरू रोजगारीका लागि विदेशतिर जान थाले। त्यसले केही केही गाउँलेको हातसम्म मोबाइल फोनको पहुँच पुग्यो।

"पाँच दोहोर्‍याई तेहेर्‍याई पढेपछि बालबालिका स्कूल जान छोडेर गाइवस्तु चराउन जङ्गलतिर जान्छन्," शिक्षिका गुरुङले भनिन्, "अनि त्यतैबाट भाग्छन्। कि घरकाले मागी विवाह गराइदिन्छन्।"गाउँमा बालविवाहको कारण ज्यूँ का त्यूँ हुनुको मुख्य समस्या पनि यही हो भन्छन्, गाउँका ८३ वर्षीय पूर्वप्रधानपञ्च झ्याप्पुबहादुर।

"हाम्रो यो गाउँमा चेपाङ जाति मात्रै छन्। सबैको जीवनशैली उस्तै छ। चेतनाको कमी छ," उनी भन्छन्।

तस्वीर कपीराइट Binita Dahal

दुखेसो

"सरकारले नगरपालिका घोषणा गरिदियो। तर अहिले पनि यहाँ विद्यार्थीहरू पाँच कक्षाभन्दा माथि पढ्न पाउँदैनन्, १४/१५ वर्ष मै विवाह गर्छन्, घरमा सुत्केरी हुन नसकेका महिलाहरू स्वास्थ्य चौकी पुग्नुअघि नै ज्यान गुमाउँछन्।"

स्यामराङ र अरू गाउँमा स्वास्थ्य चौकीको सहज पहुँच छैन। स्वास्थ्य चौकी भएका ठाउँमा स्वास्थ्यकर्मी उपलब्ध छैनन्।

"अब डेरा गरेर पढ्न जाऊँ भने पनि हाम्रो बुवाआमाले पैसा खर्च गर्न सक्नुहुन्न," अहिले दुङवाङ विद्यालयमा कक्षा पाँचमा पढ्दै गरेकी सिमना प्रजाले भनिन्।

यो नयाँ शैक्षिक सत्रको पहिलो दिन पाँच कक्षा तेहेर्‍याएर पढ्न विद्यालय पुगेकी मेनुका प्रजालाई पनि एउटै कक्षामा पढिरहन मन छैन।

तर त्यसको विकल्प पनि उनीसँग छैन।

"अहिले लगातार पढ्न पाएको भए म कक्षा आठमा पुगिसक्ने थिएँ तर के गर्नु एउटै कक्षामा तीन वर्षदेखि पढ्नु परिरहेको छु," उनले भनिन्।

Image caption चेपाङ गाउँमा बलविवाहको प्रवृत्ति बढेको पाइन्छ।

विकास प्रजा, उजेली प्रजा, बेगमान चेपाङलगायत गाउँका सबै विद्यार्थीको समस्या साझा छ।

कुरा खर्चको मात्रै होइन। छोरीलाई डेरामा बस्ने गरी पठाउन गाउँका अभिभावक पनि तयार छैनन्।

आफैँले पढ्न नपाएको बताउने डिलमायाले पनि भनिसकेकी छन्, "डेरा लिएर पढ भनेर पनि छोरीलाई कसरी पठाउने? विद्यालय नै नजाऊ भन्दा पनि फेरि आफूले जस्तै चाँडै बेहे गर्लान् भन्ने डर लाग्छ।"

बयानब्बे घरधुरी भएको स्यामराङको जनसङ्ख्या झन्डै पाँच सय छ। अधिकांश घरमा अधुरो शिक्षासँगै बालबिवाहको पनि समस्या छ।

पाँच कक्षा दोहोर्‍याई तेहेर्‍याई पढेका बालबालिकाहरू पढ्न छोडेपछि विवाह गर्छन्।

परिवार नियोजनबारे खासै चेतना छैन। अनि २० वर्ष आसपासका युवतीहरूका काखमा दुई/तीनवटा सन्तान हुनु सामान्यजस्तै भएको छ।

केही वर्षअघि सम्म मात्रै गाउँका केही किशोरीहरूले १६/१७ वर्षसम्म विवाह नगर्दा गाउँमा भनिन्थ्यो, "अब यसले बच्चा जन्माउन सक्दिनँ। उमेरमै विवाह गरे पो बच्चा पाउन पनि सजिलो हुन्छ।"

साझा समस्या

त्यो परिस्थिति अहिले पनि खासै परिवर्तन भएको छैन।

सबै घरधुरीको समस्या साझा हो। र, वर्षौँदेखि समस्या उस्तै रहिरहनुको प्रमुख कारण शिक्षाको अभाव नै रहेकोमा एक मत राख्छन् गाउँका जान्नेबुझ्नेहरू।

गाउँका पाका, तीन पटक प्रधानपञ्च भइसकेका र विद्यालयको स्थापनाकालदेखि नै संस्थापक अध्यक्ष रहेका झ्याप्पुबहादुर पनि गाउँमा शिक्षाको अवसरबाट विद्यार्थीलाई वञ्चित नगर्नका लागि आफूले पटकपटक प्रयास गरेको बताउँछन्।

विद्यालयका प्रधानाध्यापक पनि यो गुनासो जिल्ला शिक्षा कार्यालयसम्म पुर्‍याएको बताउँछन्।

तर अहिले चितवन जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मनोजकुमार गैरे भने यो समस्याबारे गाउँबाट कुनै आवाज उठाउँदै नउठाइएको तर्क गर्छन्।

उनी भन्छन्, "हो, त्यो भेगमै यो समस्या छ। तर उहाँहरूले समस्या छ भनेर हामीलाई भन्नु भएको छैन। अब चाहिँ यो विषय स्थानीय निकायमा पुर्‍याउने बितिक्कै समाधान भइहाल्छ।"

"हामीले समस्या समाधानका लागि पाँच कक्षा मात्रै भएका सबै विद्यालयहरूको पायक पर्ने ठाउँ हेरेर आवासीय विद्यालयको नै व्यवस्था गर्ने कि भनेर पनि सोचिरहेका छौँ।"

तीन पुस्ता

तस्वीर कपीराइट Binita Dahal

झन्डै ५० वर्षअघि स्थापना भएको चितवनको स्यामराङ गाउँस्थित दुङवाङ विद्यालय प्राथमिक तहमै सीमित छ।

त्यहाँ पढेका विद्यार्थीहरू हजुरबुवा हजुरआमा भइसके।

डिलमाया आफैँ पनि ३५ वर्षको उमेरमा अब बूढी भएँ भन्छिन्। तैपनि शिक्षामा समाजको मुहार फेरिएको छैन।

सरकारले समाजको मुहार नफेरी साढे दुई वर्षअघि यो गाउँलाई नगरपालिकाभित्र राखिदियो। तर गाउँका महिलाहरू काखे नानी च्यापेर भए पनि आफ्नै ल्याकतमा रात परिसकेपछि सोलारको टुकी बत्तीमा अक्षर चिन्ने प्रयास गर्दैछन्।

कलिला विद्यार्थीहरू चिनेका अक्षर पनि बिर्सिएला भनेर दोहर्‍याएर एउटै पाठ पढिरहेका छन्। उनीहरूको प्रश्न एउटै छ, "हामीले छ कक्षा कहिले पढ्न पाइएला?"

सम्बन्धित सामग्री