'थप गृहकार्यपछि फोरम सरकारमा सामेल हुने'

ओली, प्रचण्ड र यादव

सत्तासीन नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम, नेपालबीच ताजा सहमति भए लगत्तै फोरमलाई सरकारमा सामेल हुन बाटो खुलेको फोरम नेपालका एक नेताले बताएका छन्।

तर मन्त्रालयहरूबारे "थप गृहकार्यपछि मात्र निर्णय हुने" उनको भनाइ छ।

सोमवार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड तथा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई-बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

त्यो सहमतिपत्रमा फोरम नेपालले आन्दोलनको क्रममा उठाएका माग र मुद्दाहरू "आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने" र "फोरम, नेपाल सरकारमा सामेल हुने" उल्लेख गरिएको छ।

'गृहकार्य'

सहमतिपछि बीबीसीसँग कुरा गर्दै फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले "दुई मन्त्री र एक राज्यमन्त्री फोरमलाई दिने आन्तरिक समझदारी भएको" बताए।

उनले भने, "मन्त्रालयहरूबारे थप कुराकानी हुन बाँकी छ। त्यसका लागि थप गृहकार्य हुनेछ।"

श्रेष्ठका अनुसार संविधान संशोधनका विषयमा पनि थप गृहकार्य हुनेछ।

फोरम, नेपालले उठाएका माग र मुद्दाहरूका सम्बन्धमा, सहमतिपत्रमा भनिएको छ, "सरकारद्वारा गर्न सकिने कामहरू सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने छ। उपरोक्त कार्यहरू आन्तरिक गृहकार्य गरी सहमतिमा समाधान गरिनेछ।"

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार "फोरम नेपालका सदस्यहरू सम्भवत: एक हप्ता भित्रै सरकारमा सामेल हुनेछन्।"

"उहाँहरूका लागि भनेर मन्त्रालयहरू समेत खाली राखिएको छ।"