सत्तापक्ष-फोरम सहमति: 'छैन राजपाको गुनासो'

  • 28 मे 2018
फोरम‍-नेकपा तस्वीर कपीराइट Courtesy: PM's Secretariat

संविधान संशोधन गर्ने र सरकारमा सहभागी हुने भनि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सङ्घीय समाजवादी फोरमबीच भएको सहमतिलाई सकारात्मक रूपमा लिएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जनाएको छ।

उक्त दलको अध्यक्ष मण्डलका एकजना सदस्यले संविधान संशोधनको पक्षमा हुने कुनै पनि सहमतिलाई आफ्नो दलले सकारात्मक रूपमा लिने प्रतिक्रिया दिएका हुन्।

कतिपयले आशङ्का गरे जस्तो फोरम र राजपा दुवैले प्रदेश नम्बर २ मा रहेको आफूहरूबीचको सत्ता गठबन्धन प्रभावित नहुने बताएका छन्।

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा सरकारलाई विश्वासको मत दिएको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेको दुईबुँदे सहमतिपछि सरकारमा फोरमको सहभागिताको ढोका खुलेको छ।

'कार्यान्वयन होस्'

सहमतिमा फोरमले उठाउँदै आएका माग र मुद्दा 'देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा' संविधान संशोधन गरेर सम्बोधन गर्ने उल्लेख छ।

संशोधनको निम्ति दबाब दिन फोरमसँग मिलेर विगतमा आन्दोलन गरेको राजपा नेपाल र सत्तापक्षबीच समेत बेलाबखत कुराकानी भए पनि उनीहरूबीच कुनै सहमति भएको छैन।

त्यसमा आफ्नो दल छुटेकोमा कुनै गुनासो नभएको बताउने राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो फोरम र सत्तापक्षबीचको सहमति कार्यान्वयन होस् भन्ने पक्षमा देखिए।

आफूहरूले उठाउँदै आएका मुद्दा कमजोर हुन्छन् कि भन्ने चिन्ता देखिएको बताउँदै उनी भन्छन्, "आन्दोलनकारी शक्ति संयुक्त रूपमा उभिएको भए सरकारमाथि दबाब र मुद्दालाई बल पुग्ने थियो। तर संशोधनको निम्ति जहाँबाट जे प्रयास भए पनि त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ। यो सम्झौतामा मात्र सीमित नहोस्।"

प्रदेशको सत्ता

तस्वीर कपीराइट .
Image caption संविधान संशोधनको माग गर्दै आएको राजपा र सत्तापक्षबीच समेत बेलाबखत वार्ता भए पनि सहमति भएको छैन

द्विपक्षीय गृहकार्यबाट संविधान संशोधनको विषयको टुङ्गो लगाउने नेताहरुले जनाएका छन्।

सहमतिलाई लिएर असन्तुष्टिपूर्ण प्रतिक्रिया दिएका राजपाका कतिपय कनिष्ठ नेताले प्रदेश नम्बर २ को सत्ता गठबन्धनको भविष्यमाथि प्रश्न उठाएका छन्।

तर नेता महतो सहमतिबाट त्यहाँको सत्ता समीकरणमा कुनै असर नपर्ने बताउँछन्। फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ पनि महतोको धारणासँग सहमत छन्।

तस्वीर कपीराइट Courtesy: PM's Secretariat

चुनावका क्रममा प्रदेश नम्बर २ मा राजपासँग गरेको चुनावी तालमेलको भावना अनुसार संयुक्त सरकार बनाएको बताउँदै उनले भने, "त्यहाँको संयुक्त सरकारलाई हामी निरन्तरता दिन्छौँ। त्यसमा हाम्रो तर्फबाट कुनै समस्या आउँदैन। राजपा र हामीबीच अब द्वन्द्व हुन्छ कि भन्ने आशङ्का नगरे हुन्छ।"

प्रदेश नम्बर २ मा एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि बनेको नेकपा सबैभन्दा ठूलो दल हो।

उसले राजपा समेत सहभागी फोरम नेतृत्वको त्यहाँको सरकारलाई दिएको समर्थन फिर्ता लिएको भोलिपल्टै फोरम केन्द्रमा नेकपासँग सत्ताको सहयात्रा गर्न सहमत भएको छ।