सगरमाथा: सर्वोच्च शिखरमा 'मलमूत्रको थुप्रो'

  • 29 मे 2018
सगरमाथामा फोहर तस्वीर कपीराइट Purnima Shrestha

सरकारी अनुगमन फितलो भएकाले सर्वोच्च शिखर सगरमाथामा मानव मलमूत्र र अन्य फोहोर थुप्रिँदै गएको पर्वतारोहण क्षेत्रमा संलग्न व्यक्तिहरूले बताएका छन्।

पैँसट्ठी वर्षअघि आजकै (मे २९ तारिख) दिन एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। त्यसपछि सगरमाथामा स्वदेशी तथा विदेशी आरोहीहरू ओइरिने क्रम बर्सेनि बढिरहेको छ।

यसपालि करिब ३०० आरोहीहरू सगरमाथाको चुचुरोमा पुगिसकेको पर्यटन विभागका अधिकारीहरू बताउँछन्।

तर फोहरमैला व्यवस्थापन प्रभावकारी हुन नसक्दा सगरमाथाको उच्च भागमा आरोहण सामग्रीदेखि मलमूत्रजस्ता मानवजन्य फोहोरमैला नियन्त्रण हुन नसकेको सगरमाथाबाट फर्किएका आरोहीहरूले बताएका छन्।

बाध्यकारी व्यवस्थाको

सगरमाथा आरोहण गरेर फर्किने आरोहीले आफ्नो फोहरमैला फिर्ता ल्याउनुपर्ने बाध्यकारी व्यवस्था छ। तर त्यो कागजमै सीमित देखिएको छ।

सगरमाथा आधार शिविरदेखि माथिका भूभागमा अनुगमन हुन नसक्दा नियमको पालना नभएको र फोहोरमैला थुप्रिने गरेको जानकारहरू बताउँछन्।

यो वसन्त ऋतुमा मात्रै झन्डै साढे तीन सयले सगरमाथा आरोहणको स्वीकृति लिएका थिए। सहयोगीहरू समेत गरी सात सयभन्दा बढी व्यक्ति सगरमाथा आरोहणमा संलग्न भए।

आरोहणको क्रममा उनीहरूले गर्ने दिसापिसाब र प्रयोग गरेर छोड्ने सामग्रीले सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्मका क्षेत्रमा फोहोर देखिएको सगरमाथाबाट फर्केका आरोहीहरूले बताएका छन्।

पूर्णिमा श्रेष्ठले भनिन्, "क्याम्प २ मा शौचालय बनाए पनि फोहोर त्यहीँ छोडिएको छ। क्याम्प ३ मा पनि फोहोरमैला हिउँको थुप्रोमा छोडिएको छ।"

तस्वीर कपीराइट Reuters

फोटोपत्रकार पनि रहेकी श्रेष्ठका अनुसार नियम जे भए पनि सबै फोहरमैला फिर्ता आउने गरेको छैन।

अर्की आरोही निमाजाङ्मु शेर्पा भन्छिन्, "क्याम्प २ र क्याम्प ४ मा अलि धेरै फोहोर छ। क्याम्प ४ मा पुराना पाल, एलपी ग्यासका सिलिन्डर र अन्य फोहोरको थुप्रो छ।"

नियम

प्रत्येक आरोहण दलले आफ्नो फोहोरमैला आफैँले फिर्ता ल्याउनुपर्ने, नभए सरकारलाई बुझाएको चार सय अमेरिकी डलरको धरौटी जफत हुने प्रावधान छ।

त्यस्तै प्रत्येक आरोहीले फर्किंदा थप आठ किलो फोहोर आधार शिविरसम्म ल्याउनुपर्ने नियम पनि छ।

तर लगेका सामग्री र फोहोर ल्याए वा नल्याएको अनुगमन गर्ने सरकारी उपस्थिति उच्च हिमाली क्षेत्रमा छैन।

सगरमाथा आधार शिविरदेखि तलको फोहर सङ्कलन गर्ने जिम्मा एउटा गैरसरकारी संस्था सगरमाथा प्रदूषण नियन्त्रण समितिले लिइरहेको छ।

आरोहण दलसँगै जाने सरकारी सम्पर्क अधिकृतलाई पनि फोहरको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ। तर त्यो प्रभावकारी नहुने सम्पर्क अधिकृतहरू बताउँछन्।

तस्वीर कपीराइट Purnima Shrestha

एक जना सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले भने, "हामी आरोहण दलसँगै जाने हो। त्यहीँ दलले हाम्रो खर्च र सुविधा बेहोर्छ। हामीलाई सवै सुविधा उनीहरूले दिने गरी हामीलाई खटाइएपछि हामी उनीहरूविरुद्ध केही गर्न सक्दैनौँ।"

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अधिकारीहरूले भने आधार शिविरमा आउँदा अधिकांश आरोही वा आरोहण दलले फोहोर साथमा ल्याउने गरेको दाबी गर्छन्।

धरौटी

समितिका एक उपाध्यक्ष लामाकाजी शेर्पाले फोहोर बुझाएपछि मात्र उनीहरूको धरौटी रकम फिर्ता गर्ने कागजमा हस्ताक्षर गर्ने गरेको बताए।

उनले भने, "अधिकांशले फोहोर बुझाउने गर्छन्। हामी पनि आरोहणको याम सकिएपछि फोहोर व्यवस्थापन गरेर मात्र फर्किने गरेका छौँ।"

तर आधार शिविरभन्दा माथिको क्षेत्रको सफाइमा सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ।

यसैपालि २२ औँ पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर नयाँ कीर्तिमान बनाएका आरोही कामीरिता शेर्पाका विचारमा सगरमाथाको माथिल्लो क्षेत्रमा नयाँ सफाइ अभियान थाल्नु अत्यावश्यक भइसकेको छ।

तस्वीर कपीराइट STR/AFP/GETTY IMAGES

उनले भने, "मलमूत्रको थुप्रो देखेर विदेशी आरोहीले फोटो नै खिचेर लैजाने गरेका छन्। उनीहरू हामीहरूलाई सोध्छन् 'खोइ तिम्रो सरकारले केही गर्दैन?' लाजमर्दो अवस्था छ। क्याम्प २ र क्याम्प ४ मा २०-२५ वर्ष अघिदेखिको फोहोर थुप्रिएको छ। सरकारले बजेट छुट्याएर छुट्टै सफाइ कार्यक्रम गर्ने बेला भइसकेको छ।"

'उपाय'

वातावरणविद्हरू भने समितिले फोहोर नियन्त्रणको सन्दर्भमा कडाइ नगरेकोले समस्या समाधान हुन नसकेको बताउँने गर्दछन्।

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराई सरकारी संयन्त्रको उपस्थिति बलियो नभएको स्वीकार्छन्।

त्यसैले अब स्थानीय निकायसँग मिलेर काम गर्नेबारे छलफल भइरहेको महानिर्देशक भट्टराईले बताए।

उनले भने, "अब हामी स्थानीय निकायसँग मिलेर यसको समाधानको विषयमा ठोस उपाय निकाल्दैछौँ। छलफल जारी छ। अर्को वसन्त ऋतुसम्ममा सरकारको उपस्थिति राम्ररी देखिनेछ।"

सगरमाथा क्षेत्रमा मानवसिर्जित फोहरमैला र अन्य सामग्री गरी ८ टन फोहोर रहेको अनुमान गरिएको छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
निमा याङ्जी शेर्पा, लुक्ला महिला समूह, सोलुखुम्बु

सम्बन्धित सामग्री