रुस: पुटिनको आलोचना गर्ने पत्रकार युक्रेनमा मारिए

  • 30 मे 2018
हत्या तस्वीर कपीराइट EPA

राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक रहेका एक जना चर्चित रुसी खोजपत्रकारको युक्रेनको राजधानी किएभमा गोली हानी हत्या गरिएको छ।

प्रहरीको विज्ञप्तिमा आर्काडी बाब्चेन्कोलाई मङ्गलवार साँझ गोली हानिएको र त्यसको केहीबेरपछि नै उनको ज्यान गएको उल्लेख गरिएको छ।

अहिलेसम्मका प्रमाणहरूले सुनियोजित हत्या भएको संकेत गरेका छन्।

बाब्चेन्कोकी श्रीमतीले मङ्गलवार साँझ निवासबाहिर गोली चलेको सुनिन्।

रक्ताम्मे

उनले पछाडिबाट गोली हानिएका आफ्ना श्रीमान् रक्ताम्मे अवस्थामा लडिरहेको फेला पारेकी थिइन्।

त्यसपछि उपचार गर्न एम्बुलेन्समा राखेर अस्पतालतिर लैजाँदै गर्दा उनको मत्यु भयो।

सन् २०१६ मा दुर्घटनाग्रस्त रुसी सैनिक विमानका बारेमा लेखेपछि आफूलाई मारिदिने धम्की आएको भन्दै उनले रुस छाडेका थिए।

तस्वीर कपीराइट Reuters

सुरुमा उनी प्राग गए र पछि युक्रेनको राजधानीमा सरेका थिए।

विगतमा युद्ध सम्वाददाताका रूपमा पनि काम गरेका उनले किएभको एउटा युक्रेनी च्यानल एटीआर टिभीमा प्रस्तोताका रूपमा काम गर्दै आएका थिए।

आत्मकथा

मस्कोमा १८ वर्षको उमेरमा कानुन विषय अध्ययन गर्दै गर्दा उनी सेनामा भर्ना भएका थिए र सन् १९९४ देखि २००० सम्म चेचेन युद्धमा सरिक भए।

द्वन्द्वसम्बन्धी उनको अनुभव एउटा आत्मकथाको रूपमा प्रकाशित छ।

त्यसपछि उनी पत्रकार भए र उनले विभिन्न सञ्चारमाध्यममा काम गरे।

बाब्चेन्को रुसी राष्ट्रपति पुटिनका कटु आलोचक थिए र त्यस्ता धारणा राख्ने अरू जस्तै उनी पनि छिमेकी देश युक्रेनमा बस्दै आएका थिए।

पछिल्ला दुई वर्षमा किएभमा क्रेम्लिनविरोधी नेता तथा पत्रकारका लागि खतरनाक स्थान बनेको छ किनभने त्यस्ता व्यक्तिहरूलाई त्यहाँ आक्रमण गर्ने गरिएको छ।