हाकुपटासी: आयातित सारीले खोस्यो बजार

हाकुपटासी

हाते तानमा बुनेका हाकुपटासीको अभाव हुनथालेपछि उस्तै देखिने आयातीत सारीहरू बजारमा सजिलै उपलब्ध हुन थालेका छन्।

काठमाण्डू उपत्यकामा बस्ने नेवार समुदायका महिलाहरू हाकुपटासी विभिन्न चाड, पर्व तथा जात्राहरूमा लगाउने गर्छन्।

तर आयातित कालो सारीले परम्परागत परिधान हाकुपटासीको ठाउँ लिन थालेपछि नेवारी मौलिक विशेषता र संस्कृतिमा आँच आउने चिन्ता बढेको छ।

तीन वर्ष गएको विनाशकारी भूकम्पपछि हाकुपटासीका केही घरेलु उद्योगहरू बन्द भएका थिए।

व्यवसाय

भक्तपुर लिवालीकी सूर्यलक्ष्मी कोजूले घरको भुइँतलामै ढोका खोल्नेबित्तिकै देखिने गरी दुइटा तान राखेकी छन्।

उनी एउटामा रातो पारी र अर्कोमा कालो धोती बनाइरहेकी छन्।

रातो पारी भएको भएको घरबुना कालो धोतीलाई नै नेवारी भाषामा हाकुपटासी भनिन्छ।

यसले गर्मीमा शीतल र जाडोमा न्यानो गराउँछ भन्ने मान्यता छ। चाँडै मैलो नदेखिने यसको अर्को विशेषता हो।

बाह्र वर्षको उमेरदेखि हाकुपटासी बुन्न थालेकी कोजू घरसम्मै लिन आउनेलाई पनि १४ सय रुपैयाँभन्दा कममा बेच्दिनन्।

उनी भन्छिन्, "बजारमा धेरै सङ्ख्यामा हाकुपटासी चाहिएर खोज्न गए पाइँदैन। धेरै चाहियो भने एक वर्षअघि नै भन्नुपर्छ।"

उनका अनुसार आफूले बुनेको कपडाको बजार खोज्न जानुपरेको छैन।

"खोजी खोजी घरसम्मै लिन आउँछन्। उत्पादन मात्रै गर्न सके प्रशस्त कमाउन सकिन्छ।"

कारखाना

प्रयोग हुन छोडेका तानहरू सङ्कलन गरी आफूले एउटा कारखाना खोलेको भक्तपुरका धीरेन्द्र मुल बताउँछन्।

तर २०७२ सालको विनाशकारी भूकम्पपछि बुनकर महिलाहरूसमेत आउन छाडे।

मेसिनमा बुनेको हाकुपटासी वा उस्तै देखिने अरू सारीमा र हाते तानमा बुनेको परम्परागत हाकुपटासीमा धेरै भिन्नता छ भन्नेबारे धेरै मानिस सचेत नभएको धीरेन्द्र बताउँछन्।

उनले भने, "भूकम्पपछि खासै काम भएको छैन। कोही डेरामा छन् त कोही अस्थायी टहरामै छन्। हाते तानमा बुनेको हाकुपटासी र मेसिनमा बुनेको हाकुपटासीमा धेरै फरक हुन्छ। तर धेरैले अचेल ख्याल गर्दैनन्।"

अहिले कति घरमा हाकुपटासी बुनिन्छ वा हाकुपटासी कहाँ कहाँ बनाइन्छ आधिकारिक तथ्याङ्क छैन।

संरक्षण

हाकुपटासीको संरक्षण र प्रविधि हस्तान्तरणको लागि कुनै ठोस् योजना बनेको भएपनि कार्यान्वयनमा आएको छैन।

धीरेन्द्र मुल भन्छन्, "हाकुपटासीजस्तै परम्परागत परिधान सीप र प्रविधिको संरक्षणका लागि सरकारले नै जिम्मेवारी लिनु पर्छ।"

"साँच्चै नै परम्परागत बुनाइ र पोसाक संरक्षण र प्रवर्धन गर्न चाहने हो भने सरकारले नै जिम्मा लिनुपर्छ। त्यसपछि मात्रै तानमा बुन्ने हाकुपटासी बच्छ। व्यक्तिगत पहलमा यो सम्भव देखिँदैन।"

आधुनिकीकरणले विस्थापित जस्तै भएको हाकुपटासीको विभिन्न जात्रा पर्व, जमघट, सभा समारोहमा प्रयोग बढ्दै गएको छ।

त्यो स्वागतयोग्य भएपनि त्यसले हाकुपटासी र त्यससँग सम्बन्धित प्रविधि इतिहास संस्कृति जोगिनेमा निश्चिन्त बन्न नसकिने रैथाने संस्कृतिकर्मीहरु बताउँछन्।