‘तालिबान र अफगान सरकारबीच गोप्य कुराकानी’

सेना

तस्बिर स्रोत, EPA

युद्धविरामबारे छलफल गर्न तालिबानले अफगान अधिकारीसँग गोप्य बैठक गरेको अमेरिकी सेनाले जनाएको छ।

अफगानिस्तानस्थित अमेरिकी कमान्डर जनरल जन निकोल्सनका अनुसार ती बैठकमा विदेशी सरकार र अन्तर्राष्ट्रिय संगठनहरू पनि सहभागी थिए।

तर अफगान तालिबानले उक्त दाबीको खण्डन गरेका छन्।

वार्ता प्रस्ताव

अफगान राष्ट्रपति अशरफ गनीले फेब्रुअरी महिनामा वार्ताको प्रस्ताव राखेका थिए। त्यसबेला तालिबानले प्रस्तावबारे प्रतिक्रिया दिएका थिएनन्।

त्यसयता दुवैतर्फ बढ्दो क्षतिका हिंसात्मक घटना जारी थिए।

बुधवार राजधानीमै हमला गर्न सक्ने क्षमता देखाउने गरी लडाकुहरूले काबुलमा आन्तरिक मामिला मन्त्रालयमा आक्रमण गरेका थिए।

विद्रोहीहरूले लोगार प्रान्तको राजधानीस्थित एउटा प्रहरी कार्यालयमाथि गरेको अर्को आक्रमणको पनि जिम्मेवारी लिएका छन्।

यसबीच अमेरिकाले हेलमन्ड प्रान्तमा विद्रोहीविरुद्ध आक्रमण गरेको पुष्टि गरेका छन्। जसमा ५० जनाभन्दा बढी हताहत भएका थिए।

खण्डन

पचास वर्ष लामो गृहयुद्ध शान्ति सम्झौतामा पुगेर टुङ्गिएको कोलम्बियाको अवस्थासँग तुलना गर्दै जनरल निकोल्सनले हिंसा र प्रगति सँगसँगै हुनसक्ने बताए।

मध्यम र उच्च तहका तालिबान अधिकारीहरू सहित वार्ता भएको बताए पनि उनले तिनको पहिचान खुलाएनन्।

तर सञ्चारमाध्यमलाई पठाइएको आधिकारिक वक्तव्यमा तालिबानको प्रवक्ताले त्यो दाबीको खण्डन गरेका छन्।

उनले 'अतिक्रमणकारी शक्ति' उपस्थिति भएको बेला 'महत्त्वहीन पक्ष' सँग कुरा गरेर समय खेर नफाल्ने बताए।

फेब्रुअरी महिनामा वार्ताको प्रस्ताव राख्दै राष्ट्रपति गनीले देशको संविधान मान्न र युद्धविराम गर्न तयार भएमा तालिबानलाई राजनीतिक दलको मान्यता दिन सकिने बताएका थिए।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन,

तालिबानका केही पूर्वलडाकुले आत्मसमर्पण गरेका छन् तर केही समययता सो समूह झनै शक्तिशाली भएको देखिन्छ

सन् २०१४ मा विदेशी फौजले अफगानिस्तान छाडेयताकै सबभन्दा धेरै भूभाग अहिले तालिबान विद्रोहीको नियन्त्रणमा रहेको बीबीसीद्वारा जनवरी महिनामा गरिएको अनुसन्धानले देखाएको छ।

कुल जनसंख्याको आधा, एक करोड ५० लाख जति मानिस तालिबानको खुला उपस्थिति रहेको र नियमित रूपमा उनीहरुले आक्रमण बढाइरहेको वा उनीहरूको नियन्त्रणमा रहेको क्षेत्रमा बस्ने गरेको अनुमान छ।

तालिबान र आईएसले जिम्मेवारी लिएका काबुल र अन्य स्थानमा पछिल्ला महिनामा भएका आक्रमणहरुमा कैयौँ मारिएका छन् र तिनले देशको राजधानीको केन्द्रभागमा समेत आक्रमण गर्न सक्ने तालिबानको क्षमता रहेको देखाएको छ।

को हुन् तालिबान?

सोभियत-अफगान युद्धलगत्तै भएको गृहयुद्धपछि सन् १९९६ मा कट्टरपन्थी इस्लामवादी तालिबान आन्दोलनले अफगानिस्तानको शक्ति हत्याउन सफल भएको थियो। पछि उनीहरूलाई अमेरिकी नेतृत्वको फौजले आक्रमण गरी विस्थापित गरिदियो।

शक्तिमा पुगेपछि उनीहरूले महिलाको सार्वजनिक जीवनमा बन्देज लगाउनुका साथै सार्वजनिक स्थानमा हत्या र अङ्गभङ्ग गर्ने जस्ता शरिया कानुनको क्रूर संस्करण लागु गरेका थिए।

पुरुषले दाह्री पाल्न र महिलालाई पूरै शरीर ढाक्ने गरी बुर्का लगाउन बाध्य पारिनुका साथै टेलिभिजन, सङ्गीत र सिनेमामाथि पनि प्रतिबन्ध लगाइएको थियो।

सत्तामा रहँदा वा नरहँदा पनि अल कायदाका नेताहरूलाई आश्रय दिने गरेका उनीहरू सत्ताबाट हटाइएपछि हिंसात्मक विद्रोह गरिरहेका छन्।