चीन भन्छ, 'विवादित टापुमा सैन्य उपस्थिति आफ्नो अधिकार'

  • 2 जुन 2018
साउथ चाइना सी तस्वीर कपीराइट Reuters

चीनले साउथ चाइना सीस्थित विवादित टापुहरूमा अस्त्र राख्न पाउनु आफ्नो अधिकार रहेको बताएको छ।

चीनले आफ्ना छिमेकीलाई तर्साउन खोजेको आरोप अमेरिकाले आरोप लगाएपछि उसको पछिल्लो प्रतिक्रिया आएको हो।

जेनरल ही लिइले ती टापु चिनियाँ क्षेत्र रहेको भन्दै आफ्नो सार्वभौमिकता रक्षा गर्नु चीनको वैधानिक अधिकार रहेको बताए।

सिंगापुरमा एउटा सुरक्षा सम्मेलनमा अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले राखेको धारणाको जवाफ ती सैन्य अधिकारीले दिएका हुन्।

ती अधिकारीले अन्य मुलुकबाट उनकै शब्दमा 'गैरजिम्मेवारपूर्ण' अभिव्यक्ति सह्य नहुने पनि बताए।

चीनलाई अमेरिकी रक्षामन्त्रीको चेतावनी

अमेरिकी युद्धपोतबारे चीनको कडा प्रतिक्रिया

प्रतिवाद

म्याटिसले चीनले पानीजहाजप्रतिरोधी क्षेप्यास्त्रहरू, जमिनबाट हावामा प्रहार गर्न सक्ने क्षेप्यास्त्रहरू र विद्युतीय उपकरण काम नलाग्ने बनाइदिने ज्यामरहरु साउथ चाइना सीमा राखेको जनाए।

उनले यस्ता अस्त्र प्रत्यक्ष रूपमा धम्काउने जस्ता सैन्य प्रयोगसँग सम्बन्धित रहेको आरोप लगाए।

साउथ चाइना सीको विवादित टापुमाथि चीनसहित छ मुलुकले परस्परविरोधी दाबीहरू गर्दै आएका छन्।

महत्त्वपूर्ण व्यापारिक मार्गका रुपमा रहेको साउथ चाइना सीमा भियतनाम, फिलिपिन्स, मलेसिया, ताइवान र ब्रुनाइले पनि दाबी गर्दै आएका हुन्।

चीनले ड्रोन फिर्ता गर्छ: पेन्टागन

तनाव

तर पछिल्ला केही वर्ष तनाव बढ्दै गएको छ।

चीनले विवादित भागमा विभिन्न संरचनाहरू बनाइरहेको छ।

साथै उसले गस्तीहरू पनि गरिरहेको छ।

म्याटिसले आफूहरूले चीनसँग रचनात्मक सम्बन्ध चाहेको तर आवश्यक परे दृढतापूर्वक प्रतिस्पर्धा गर्ने बताए।

यद्यपि उनले उक्त क्षेत्रमा चीनको भूमिका महत्त्वपूर्ण रहेको भनी अमेरिकाले स्वीकारेको पनि बताए।

सुरक्षा सम्मेलनमै म्याटिसले आगामी महिना उत्तर कोरियासँग हुने शिखर वार्तामा, दक्षिण कोरियामा तैनाथ अमेरिकी सैनिकसम्बन्धी विषय छलफलको मुद्दा नहुने जनाएका थिए।

अमेरिकाले कोरियाली प्राय:द्वीपको पारमाणविक निश्शस्त्रीकरण चाहेको उनले उल्लेख गरे।

दक्षिण कोरियामा हाल साढे २८ हजार अमेरिकी सैनिक तैनाथ छन्।

सम्बन्धित सामग्री