‘किमलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिनसक्छु’

ट्रम्प

तस्बिर स्रोत, AFP

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिङ्गापुरमा अर्को साता हुने शिखर बैठक राम्ररी अघि बढे आफूले उत्तर कोरियाली नेता किम जङ अनलाई ह्वाइट हाउसको भ्रमणमा बोलाउनसक्ने बताएका छन्।

जापानी प्रधानमन्त्री सिन्जो आबेसँग जुन १२ मा हुने शिखर बैठकबारे छलफल गरेपछि उनले त्यस्तो संकेत दिएका हुन्।

उनले कोरियाली युद्ध अन्त्य गर्नेबारे सम्झौता हुने सम्भावना रहेको भन्दै उनले त्यसलाई वार्ताको 'सजिलो अंश' भनेका छन्।

अमेरिका र उसका साझेदारहरूले उत्तर कोरियाले परमाणु अस्त्र त्याग्नुपर्ने बताउँदै आएका छन्।

तर राष्ट्रपति ट्रम्पले त्यसलाई आत्मसाथ गर्न एकभन्दा धेरै बैठक आवश्यक नपर्ने उल्लेख गरे।

ह्वाइट हाउसमा पछि बोल्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले किम जङ अनले परमाणु निश्शस्त्रीकरणका लागि तयार रहेको आफूलाई व्यक्तिगत रुपमा संकेत दिएको बताए।

तर उत्तर कोरिया अमेरिकाले भन्ने गरे जस्तो निश्शस्त्रीकरणको नजिक आइरहेको छ कि छैन भन्ने चाहिँ स्पष्ट भइसकेको छैन।

ट्रम्पले के भने?

तस्बिर स्रोत, AFP

राष्ट्रपति ट्रम्पले मित्रवत वार्ताका लागि तयारी भइरहेकाले उत्तर कोरियाको सन्दर्भमा 'अधिकतम दबाब' भन्ने शब्द आफूले प्रयोग नगर्ने बताए।

तर उनले उत्तर कोरिया विरुद्ध थप कैयौँ प्रतिबन्ध लगाउन सक्ने शक्ति आफूसँग भएको पनि चेतावनी दिए।

उनले शिखर बैठक राम्ररी अघि नबढे आफू त्यसबाट बाहिरिन पूर्ण रूपमा तयार रहेको भन्दै वार्ता राम्रो नभए किम जङ अनलाई वासिङटन भ्रमणको निम्तो नदिने उल्लेख गरे।

"यदि सबै राम्ररी अघि बढ्यो भन्दै त्यसलाई राम्रो अर्थमा लिन सकिन्छ," उनले भने, "मलाई लाग्छ त्यसलाई सकारात्मक रूपमा लिइनेछ र त्यस्तो हुनसक्छ।"

फ्लोरिडास्थित आफ्नो आराम गर्ने स्थान मार-अ-लागोमा किमलाई निम्तो गर्न सकिने भन्ने खबरहरूका बारेमा सोधिएको प्रश्नमा सम्भवत: व्हाइट हाउसबाटै भ्रमण सुरू हुने उनले उल्लेख गरे।

आबे के चाहन्छन्?

जापानी प्रधानमन्त्रीले ट्रम्पले कार्यकाल सम्हालेयता उनीसँग नियमित बैठक गरिरहेका छन्। अमेरिका र उत्तर कोरियाबीच राम्रो सम्बन्ध निर्माण गर्ने प्रयास भइरहँदा जापानी स्वार्थलाई बेवास्ता नगरियोस भन्ने आबे चाहन्छन्।

आबेले सन् १९७० र ८० को दशकमा उत्तर कोरियाले आफ्ना गुप्तचरहरूलाई जापानी भाषा र सस्कृति सम्बन्धी तालिम दिन अपहरण गरेका आफ्ना नागरिकहरूबारे जापानका सरोकारलाई ट्रम्पले बुझेकोमा आफू विश्वस्त रहेको बताए।

उत्तर कोरियाले १३ जना अपहरण गरेको स्विकार गरेपनि वास्तविक संख्या अझ धेरै हुनसक्ने ठानिन्छ।

आबेले आफू सिधै उत्तर कोरियासँग वार्ता गरेर उक्त बन्धकसम्बन्धी समस्या चाँडै हल् गर्न इच्छुक रहेको बताए।

उक्त क्षेत्रमा वास्तविक शान्ति हुनुपर्ने जापानी नीति दोहोर्‍याउँदै उनले उत्तर कोरियाले त्यसका लागि कदमहरू चाले उसको 'भविष्य उज्जवल' रहेको बताए।