तरकारी: 'विषादीबारे अझै ढुक्क हुन सकिन्न'

तरकारी

नेपालका बजारमा तरकारी र फलफूलका नमुनामा कम विषादी पाइन थालेपनि अझै ढुक्क हुने अवस्था नआइसकेको भन्दै उपभोक्ता अधिकारीवादीहरूले चिन्ता व्यक्त गरेका छन्।

नेपालमा तरकारी तथा फलफूलमा विषादीको प्रयोगमा कमी आउन थालेको कृषि विभागका अधिकारीहरूले बताएका छन्।

तर तीनको सबै खाले परीक्षण नहुने हुँदा अझै पनि ढुक्क भएर खान सक्ने स्थिति नभएको उपभोक्ता अधिकारवादीहरूले बताएका छन्।

बाली संरक्षण निर्देशनालयका अनुसार पछिल्लो ६ महिनामा काठमाण्डूको कालीमाटीमा परीक्षण गरिएका तरकारीका नमुनामा विषादीको प्रयोगमा कमी आएको पाइएको छ।

पछिल्लो वर्ष तुलनात्मक रूपमा कम हानिकारक विषादी नेपाल भित्रिने क्रम बढेकोले विषादीको अवशेषमा कमी आएको हुनसक्ने अधिकारीहरू बताउँछन्।

चिन्ताहरू

तर उपभोक्ता अधकारकर्मीहरूले भने सरकारले गर्ने तरकारीको परीक्षणले सबै क्षेत्र समेट्न नसकेको भन्दै त्यसमा ढुक्क नहुन सुझाएका छन्।

तरकारीमा प्रयोग भएको विषादीको मापन त्यसले मस्तिष्कबाट उत्पादन हुने कोलिनिस्टिरेस नामक इन्जाइम विकासमा कतिको रोक लगाउँछ भनेर हेरिने 'इन्हिबिसन' अर्थात् रोकाइको प्रतिशतका आधारमा गरिन्छ।

यदि तरकारी परीक्षण गर्दा त्यस्तो रोकाइको प्रतिशत ३५ प्रतिशतभन्दा कम पाइयो भने त्यस्तो तरकारी खान मिल्छ। तर ४५ प्रतिशतभन्दा बढी पाइयो भने त्यसको प्रयोगलाई प्रतिबन्ध लगाइन्छ।

परीक्षणमा पछिल्लो ६ महिनामा कालीमाटी स्थित देशको प्रमुख फलफूल तथा तरकारी केन्द्रको अवस्थाबारे निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत मानबहादुर क्षेत्रीले भने, "विषादी भेटिन्छ भन्ने हिसाबले होला सायद पछिल्ला वर्षहरूमा पर्खने समय पार गरेर आएको होला त्यो कम छ। तर पुसयता चाहिँ हामीले एउटा पनि नमुनामा विषादी भेट्टाएका छैनौँ।"

तर उनले मेसिनले बजारमा धेरै पाइने दुई समूहका विषादीहरू अर्गानोफोस्फेट र कार्बामेट पत्ता लगाउन सक्ने तर फंगिसाइट र अन्य वर्गका विषादी पत्ता लगाउन नसक्ने बताए।

'सुधार'

राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले फलफूल र तरकारीमा विषादीको प्रयोगमा क्रमश: सुधार आउँदै गएको पाइए पनि अझै ढुक्क भएर खानसक्ने अवस्था नरहेको बताए।

उनले भने, "बाली संरक्षण निर्देशनालयले परीक्षण गरेको नमुना त हामीले पक्कै पनि खान पाएको छैनौँ। हरेक क्षेत्रबाट आउँछ त्यसैले विषादीमुक्त छ भन्ने अवस्था त पक्कै पनि छैन।"

सरकारले काठमाण्डूको कालीमाटीमा तरकारी तथा फलफूलमा विषादीको प्रयोग परीक्षण गर्न २०७१ सालमा प्रयोगशाला राखेका थिए।

अहिले देशभर विभिन्न ७ ठाउँमा त्यस्ता प्रयोगशालाहरू राखिएका भए पनि त्यसले समग्र तरकारी आपूर्ति हुने क्षेत्रलाई समेट्न नसकेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरिरहेका छन्।