नेपाललाई थप हवाईमार्ग दिन भारत सहमत

  • 16 जुन 2018
हवाइ मार्ग

नेपाललाई थप चारवटा हवाइ प्रवेश विन्दु भारतले दिने गरी आज दुवै देशबीच सहमति भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

पूर्वमा जनकपुर र विराटनगर अनि पश्चिममा नेपालगञ्ज र कञ्चनपुरबाट उपलब्ध गराउने गरी आज भएको सहमति कार्यान्वयनमा जान भने समय लाग्ने विज्ञहरूको तर्क छ।

यी प्रवेशमार्गहरू कार्यान्वयनमा आएसँगै अहिले एकमात्रै प्रवेश विन्दुका रूपमा रहेको सिमरामा भर पर्नुपर्ने बाध्यता टर्नेछ।

उडानहरू बाहिरिनका लागि मार्गहरू भए पनि भारत हुँदै नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडानका लागि अहिले एउटै प्रवेश विन्दु सिमरा मात्रै रहेको छ।

'विमानस्थल विस्तारको काम सन् २०१९ भित्र'

जटिल

जसले गर्दा विमानलाई आकाशमै धेरै समयसम्म अडाइ राख्नुपर्ने समस्या जटिल बन्दै गएको बताइन्छ।

केही वर्षदेखि देखापर्दै आएको यो समस्या चिर्नका लागि नेपाल सरकारले एकदशक भन्दा लामो समयदेखि भारतीय पक्षसँग प्रवेशमार्ग उपलब्ध गराउनेबारे छलफल गर्दै आएको थियो।

हिजो र अस्ती यसबारे दुवै देशका अधिकारीहरूबीच छलफल भएपछि आज नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको पत्तन प्राधिकरणबीच चारवटा ठाउँबाट उडान प्रवेश विन्दु दिने सहमति भएको हो।

उक्त सहमतिबारे प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले भने, "पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश विन्दुका लागि काठमाडौंदेखि विराटनगर र काठमाडौंदेखि जनकपुरबीचको हवाई रुटलाई दुईतर्फी बनाउने र यसरी नेपाल र भारतबीच सीमापार उडानहरूलाई पनि सघाउ पुर्याउने चाहिँ सहमति भएको छ।"

उडान सुरक्षाका लागि नयाँ रेडार

फाइदा

यसैगरी पश्चिममा नेपालगञ्ज र महेन्द्रनगरबाट प्रवेशमार्ग दुईतर्फी बनाउन पनि सहमति भएको भन्दै उनले यी सबैका लागि उडान सुरक्षा मुल्यांकन जुलाईसम्म नेपालले बुझाउनुपर्ने बताए।

त्यसपछि भारतले उक्त मुल्यांकनको विश्लेषण गरेपछिमात्रै आजको सहमति कार्यान्वयनमा जानेछ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक भैरहवा, पोखरा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागिरहेका बेला आजको सहमतिले नेपाललाई विभिन्न किसिमका फाइदा हुने उड्डयन क्षेत्रका विज्ञ तथा उडान सञ्चालन विभागका पूर्व उपनिर्देशक विमलेशलाल कर्णले बताए।

उनले भने, "हाम्रो चाइना हङकङ तिरबाट पूर्वतिर जाने जहाजहरू नेपालबाट ओभरफ्लाइ गरेर जान पनि सक्छ आउन पनि सक्छ त्यसले गर्दा सरकारलाई राजस्व पनि वृद्धि हुन्छ। र, नेपालमा बस्न सक्ने जहाजको लागि पनि धेरै वैकल्पिक मार्गहरूको स्थापना हुनजान्छ।"

एक दशक भन्दा लामो समयदेखि उडान प्रवेश विन्दुको विषयमा नेपालले पहल गर्दै आएको भए पनि नेपाल र भारतका दुई प्रधानमन्त्रीबीच गत मे महिनामा भएको वार्तापछि यसले गति लिएको हो।

सम्बन्धित सामग्री