सार्वजनिक विदा नदिएकोप्रति मुसलमान समुदायको असन्तुष्टि

  • 16 जुन 2018
इद

मुसलमान समुदायले शनिवार इद पर्व मनाएर पवित्र रमजान महिनाको अन्त्य गरेका छन्।

महिनाभरको कठिन ब्रतपछिको यो उत्सवको पर्वमा उनीहरूमा खुसीसँगै असन्तुष्टि पनि देखिएको छ।

उक्त पर्वमा सार्वजनिक बिदा नदिएको भन्दै कतिपयले हातमा कालोपटी बाँधेर नमाज पढेका थिए।

इद अल-फित्रका बेला खाइने लोकप्रिय परिकार

विशेषता

इद उल फित्रको दिन विराटनगर-६ की केकशा कौशरलाई बिहानैदेखि भ्याइनभ्याइ थियो।

इद अल फित्रमा खाइने सेवई लगायतका परिकार बनाउन उनी बिहानैदेखि व्यस्त थिइन्।

उनले भनिन्, "इदको दिन हामी बिहानै उठेर नुहाइधुवाइ गरेर सेवई बनाउछौं। थरीथरीका परिकारहरू बनाउँछौं। हाम्रो श्रीमान् छोराहरू नमाज पढेर आइसकेपछि। हामी एकदमै उत्साहका साथ पूरा परिवार आफन्तहरूसँग भेटघाट गर्न पनि जान्छौं।"

परिवार तथा आफन्तका साथ रमाइलो र एक आपसमा अंगालो मारेर शुभकामना आदानप्रदान गर्दै यो पर्व मनाइन्छ।

गरिब तथा असहायहरूलाई सहयोग गर्नु पनि उक्त पर्वको अर्को विशेषता हो।

इदको खुसीसँगै मुस्लिम समुदायमा केही निराशा पनि देखियो।

मुसलमान समुदायले मनाउने गरेका इद उल फित्र, बकर इद र मोहमद डेका दिन विगतका वर्षहरुमा सार्वजनिक बिदा दिने गरिएपनि यसपटक सरकारले ती पर्वमा मुसलमान समुदायलाई मात्र बिदा दिने निर्णय यसअघि नै गरेको थियो।

असन्तुष्टि

सम्बन्धित धर्म , संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र दिइने बिदाको सूचीमा इद अल फित्र पनि परेपछि मुसलमान समुदायले असन्तुष्टि जनाएका हुन्।

रमजानको समापन गर्न मदरसा र इदगाहमा भेला भएका मुस्लिम समुदायले सरकारको उक्त कदमको विरोध गर्दै हातमा कालोपटी बाँधेर नमाज पढेको एकजना मुस्लिम अगुवा साहेव अहमद गुडडु बताउँछन्।

उनले भने, "यदि आज पनि मुसलमानहरूलाई मात्रै बिदा दिने हो भने यो गणतन्त्र के को लागि हो र धर्म निरपेक्षता के को लागि हो?"

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने मन्त्रिपरिषदको निर्णयले उक्त पर्वका दिन सार्वजनिक बिदा कटौती गरिएको तर मुस्लिम समुदायलाई भने बिदा दिइएको बताए।

उनले भने, "मन्त्रिपरिषद्ले गरेको हो यो निर्णय। हामीले त्यही अनुसार परिपत्र गरेका हौं। अन्य समुदायलाई चाहिँ बिदा दिइएको छैन।"

सार्वजनिक विदा कटौती गरेर सरकारले आफूहरूलाई निराश बनाएको मुसलमान समुदायको गुनासो छ।

सम्बन्धित सामग्री