राष्ट्रियसभा: दुई वर्षमै कार्यकाल सकिनेमा काँग्रेसका धेरै

  • 18 जुन 2018
राष्ट्रिय सभा तस्वीर कपीराइट RSS

गोलाप्रथा गरेर कार्यकाल निर्धारण गर्ने क्रममा दुई वर्षे कार्यकाल कायम भएकाहरूमा थोरै संख्यामा रहेका विपक्षी दलका सांसदहरू नै धेरै परेका छन्।

राष्ट्रियसभामा १३ जना सांसद रहेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सातजना सांसदको कार्यकाल दुई वर्षको मात्र हुने भएको छ।

दुईजना सदस्य रहेको राष्ट्रिय जनता पार्टीका दुवैजनाको कार्यकाल दुई वर्षको मात्रै हुने भएको छ।

नेकपाका थोरै

राष्ट्रियसभामा ४० जना सांसद रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का आठजना मात्रै सांसदको कार्यकाल २ वर्षको भएको छ।

दुईजनामात्रै सदस्य रहेको संघीय समाजवादी फोरमका एक जना सांसदको पनि कार्यकाल दुई वर्षमै सकिने छ।

मनोनित तीनजना सासंद मध्ये सबैभन्दा भाग्यमानी गृहमन्त्री रामबहादुर थापा बनेका छन्।

उनको कार्यकाल छ वर्षको भएको छ भने अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल दुई वर्षमै सकिने भएको छ।

मनोनित

तस्वीर कपीराइट RSS
Image caption गृहमन्त्री रामबहादुर थापा बादल ६ वर्षे कार्यकालनै छान्ने भाग्यमानीमध्ये परेका छन्।

अर्थमन्त्रीले आफ्नो मन्त्रीपद कार्यकाल सकिएको छ महिनासम्म सांसद पद गुम्दा पनि कायम राख्ने संवैधानिक व्यवस्था छ।

तर त्यसपछिका लागि भने उनी पुन: सांसद निर्वाचित वा मनोनित भएर आउनु पर्ने छ।

राष्ट्रियसभाका सदस्य समेत रहेका कानुनविद् तथा काँग्रेस नेता राधेश्याम अधिकारीले दलीय रुपमा कार्यकाल सकिने व्यवस्था नगरिएकाले राष्ट्रियसभा विपक्षी विहिन बन्दै जाने बताए।

तर राष्ट्रियसभाकै सदस्य समेत रहेका नेकपाका रामनारायण बिडारीले राष्ट्रियसभाको संरचना दलीय भन्दा पनि समावेशी अवधारणा बमोजिम भएकाले गोलाप्रथा समावेशी कोटा अन्तर्गत गरिएको बताए।

दुई वर्षपछि पद रिक्त हुने १९ जना सांसदका लागि निर्वाचन हुने छ।

उक्त निर्वाचनबाट विजयी भएर आउने सांसदहरुको कार्यकाल छ वर्षको हुनेछ।

राष्ट्रियसभा स्थायी प्रकृतिको सदन मानिने हुनाले शुरुको राष्ट्रिय सभामा एक तिहाई सदस्यलाई दुई वर्षे, एक तिहाईलाई चार वर्षे अनि एक तिहाईलाई छ वर्षे अवधि हुने गरी गोलाप्रथाबाट कार्यकाल निर्धारण हुन्छ।

त्यसपछि राष्ट्रियसभाका निम्ति चुनिने सबै सदस्यले छ वर्षे कार्यकाल नै पाउनेछन्।