न्यूरोसर्जन उपेन्द्र देवकोटा रहेनन्

  • 18 जुन 2018
उपेन्द्र देवकोटा तस्वीर कपीराइट NeuroHospital

पित्तनलीको क्यान्सरबाट ग्रसित वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको छ।

झण्डै ६ महिनाअघि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका क्रममा ब्रिटेनमा उनलाई सो रोग लागेको थाहा भएको वीर अस्पतालमा उनीसँग लामो समय काम गरेका न्यूरोसर्जन डा. पवन कुमार सुल्तानियाले बीबीसीलाई बताए।

डा. सुल्तानियाले भने,''वहाँ निकै मिहिनेती, सीपयुक्त र उच्चकोटीको प्राज्ञिक व्यक्तित्व हुनुहुन्थ्यो। त्यही मिहिनेत र कुशल नेतृत्वका कारण सीमित स्रोतकाबिच पनि वीरमा न्यूरोसर्जरी विभागको स्थापना सम्भव भएको थियो।''

तस्वीर कपीराइट NeuroHospital

थप उपचार सम्भव नभएकाले स्वदेशमै अन्तिम समय बिताउने चाहना व्यक्त गर्दै उनी बैशाखयता आफ्नै अस्पतालमा उपचाररत थिए।

वीर अस्पतालमा न्यूरो सर्जरी विभागको स्थापना एवं अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा रुपान्तरण गर्ने कामलाई उनको उल्लेख्य योगदानको रुपमा लिइन्छ।

पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा केही समय स्वास्थ्यमन्त्री समेत भएका देवकोटा केही समययता भने राजनीतिमा आउने गृहकार्य गरिराखेका थिए।

उनका श्रीमती र तीन छोरीहरु छन्।

सम्बन्धित सामग्री