'नेपालले चीनबाट लाभ लिन खोज्नु राष्ट्रिय स्वार्थले आवश्यक'

'नेपालले चीनबाट लाभ लिन खोज्नु राष्ट्रिय स्वार्थले आवश्यक'

पूर्वपरराष्ट्रमन्त्री कमल थापाले नेपालले उत्तरी छिमेकी चीनसँगको सम्बन्ध विस्तार गर्दा दक्षिणी छिमेकी भारत सशङ्क हुनुपर्ने कुनै कारण नरहेको बताएका छन्।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका सन्दर्भमा नेपालको दुई छिमेकीसँगको सम्बन्धबारे बीबीसीसँग कुरा गर्दै उनले त्यसबारे नेपालले भारतलाई विश्वस्त तुल्याउनु पर्ने बताए।

ओली नेतृत्वको अघिल्लो सरकारका उपप्रधान एवम् परराष्ट्रमन्त्री थापा उसबेला सरकारले चीनसँग गरेको सहमति-समझदारी अनि नाकाबन्दीका बेला भारतसँग गरेको कुराकानीमा प्रत्यक्ष संलग्न पनि थिए।

भारतको चासो-चिन्ता

नेपाल र चीनको सम्बन्धमा भारतको अत्यन्तै उत्सुकता र निगरानी तथा चिन्ता र चासो पनि रहने गरेको उनको बुझाइ छ।

उनी भन्छन्, "नेपालले चीनबाट लाभ लिन खोज्नु राष्ट्रिय सुरक्षा र राष्ट्रिय स्वार्थको दृष्टिबाट आवश्यक छ। यो यथार्थ हामीले ठिक ढङ्गले बुझायौँ भने भारतले अन्यथा लिनु पर्ने आवश्यकता छैन।"

भारतले तीन पटक आर्थिक नाकाबन्दी लगाएको बताउँदै थापाले भूपरिवेष्ठित अवस्था वा प्राकृतिक विपद्का कारण पनि नेपालमा आपूर्ति व्यवस्थामा आउन सक्ने अवरोधलाई दृष्टिगत गरेर विकल्पका लागि चीनसँग व्यापार तथा पारवहन सम्झौता गरिएको बताए।

त्यसलाई विगत दुई वर्षसम्म अघि नबढाइएको र वर्तमान सरकारले पनि प्राथमिकता दिनेमा उनले शङ्का व्यक्त गरे।

अभिनन्दन

थापाको भनाइ छ, "सन्तुलित परराष्ट्र नीति, भारत-चीनको प्रगतिबाट फाइदा लिने र विश्व समुदायसामु नेपालको प्रतिष्ठा बढाउने प्रधानमन्त्रीको धारणाको म प्रशंसा गर्छु तर कार्यान्वयनमा शङ्का छ।"

भारतसँग खराब सम्बन्ध राखेर नेपालको हित र स्वार्थको सम्वर्धन नहुने उनको ठम्याइ छ।

त्यसको निम्ति भारतसँग राम्रो सम्बन्ध राख्नु पर्ने बताउँदै थापाले भने, "तर भारतले नेपालको संविधान स्वागत नगरेको, संविधान अपूर्ण रहेको, सर्वस्वीकार्य र समावेशी नभएको आरोप लगाइरहेकै अवस्था तथा नाकाबन्दीबारे खेद, दु:ख र क्षमा पनि प्रकट नगरेको अवस्थामा भारतीय प्रधानमन्त्रीको दुई-दुई ठाउँमा नागरिक अभिनन्दन गर्नु अस्वाभाविक प्रदर्शन थियो।"

चीनसँग नेपालको सम्बन्धनलाई लिएर भारतको पुरानो धारणामा विस्तारै परिवर्तन आउन थालेको उनको अनुभव छ।