स्थानीय निकायमा महिला: मेयर र उपमेयरसँग सीधा पहुँच

चन्दननाथ उपप्रमुख

कार्यालयमा आउने सेवाग्राहीलाई ध्यानमा राखेर धेरैलाई सामान्य लाग्ने तर केही महत्त्वपूर्ण कदम चालिएको जुम्लाको चन्दननाथ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले बताएका छन्।

महिला, अपाङ्गता भएका व्यक्ति र अन्य सर्वसाधारणको पहुँच जनप्रतिनिधिहरूसँग होओस् भनेर नगरपालिका कार्यालयमा त्यस्तो व्यवस्था गरिएको उनको भनाइ छ।

नेपालमा झन्डै २० वर्षपछि गत वर्ष स्थानीय निकायको निर्वाचन भएको थियो।

चन्दननाथ नगरपालिकको सुधारको प्रयासलाई सेवाग्राहीहरूले पनि रुचाएको देखिएको छ।

हिंसापीडितका लागि

मेयर र उपमेयरले हिंसापीडितहरूका कुरा सुन्न जुम्लामा छुट्टै कोठाको व्यवस्था गरिएको छ।

स्थानीय तहमा अहिले महिलाहरू नेतृत्व तहमा आएकाले महिलाहरूमाथि हुने विभिन्न प्रकारका हिंसा अन्त्य गर्न सजिलो हुने महिलाहरूको बुझाइ छ।

मेयर र उपमेयर दुवै महिला भएकाले आफ्ना अधिकारको विषयमा निस्सङ्कोच बोल्न सकिने अनुभव चन्दननाथ नगरपालिकाको वडा नम्बर ७ की मायालक्ष्मी सार्की सुनाउँछिन्।

उनी भन्छिन्, "पुरुषले हाम्रो पीडा पनि बुझ्दैनन्, श्रीमान्‌ले दु:ख दिएपछि भाग्नु भन्दा भन्ने आधार त हुन्छ।"

अपाङ्गता भएकाका लागि

अपाङ्गता भएका व्यक्तिहरूको पनि नगरपालिकामा सहज पहुँच बनाउन मेयर तथा उपमेयरले आफ्नो कार्यकक्ष भुइँतलामै राखेको बताएका छन्।

जिल्लाका अन्य सरकारी कार्यालयभन्दा नगरपालिकाको कार्यालयमा ह्वीलचेअर गुडाएर तथा बैशाखी टेकेर पनि जान सकिने भएको हुनाले आफूहरूलाई सजिलो भएको हिमा गाउँपालिका वडा नम्बर ६ का सूर्यबहादुर अधिकारी बताउँछन्।

उनी भन्छन्, "मेयर र उपमेयर तल्लो तलामा बस्ने भएका हुनाले हामी जस्ता ह्वीलचेअर र बैशाखीमा गएका व्यक्तिहरूको पहुँच राम्रो भयो। हाम्रा लागि बजेट कति छ भन्ने पनि सजिलै थाहा हुने भयो। अरूको सहारा नलिईकनै मेयर र उपमेयरसँग आफ्नो कुरा गर्न पाउने भइयो।"

महिलाका लागि

जुम्लाकी महिला निर्माण व्यवसायी पुष्पा गिरी महिलाहरूलाई आयआर्जनका क्रियाकलापमा लगाएर आत्मनिर्भर बनाउन मेयर र उपमेयर दुवै जनाले समान व्यवहार गरेको देख्दा खुसी लागेको बताउँछिन्।

उनी भन्छिन्, "निर्धक्क भएर आफ्ना अधिकारका कुरा, विकासका कुरा गर्न सकिन्छ। यसो भएन, उसो भएन भन्न सकिन्छ।"

सामाजिक सुधार

कर्णालीमा कुप्रथाको रूपमा रहेको छाउपडी प्रथा अन्त्य गर्न विशेष कार्यक्रम ल्याइएको उनीहरूले बताए।

चन्दननाथ नगरपालिकाकी उपमेयर अप्सरादेवी न्यौपाने महत महिलाहरूलाई अवसर दिइएमा विकास निर्माणका प्रत्येक क्रियाकलापलाई सजिलै अगाडि बढाउन सकिने बताउँछिन्।

बालविवाह तथा महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्नको लागि विशेष जोड दिएर सचेतनाका कार्यक्रम भइरहेको चन्दननाथ नगरपालिकाले जनाएको छ।