नाइजिरिया: किसान र गोठालाबीच हिंसा हुँदा ८६ को मृत्यु

  • 25 जुन 2018
नाइजेरिया तस्वीर कपीराइट AFP/GETTY IMAGES
Image caption फाइल तस्वीर

नाइजिरियाको प्लेटो राज्यमा किसान र फिरन्ते गोठालाहरूबीचको हिंसामा कम्तीमा ८६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

बेरोम आदिवासी किसानहरूले फुलानी समुदायका गोठालाहरूमाथि आक्रमण गरेपछि बिहीवार हिंसा सुरु भएको विवरणमा प्राप्त भएका छन्।

त्यसपछि शनिवार प्रत्याक्रमणमा थप मानिसहरूको ज्यान गएको हो।

भूमिका लागि लड्दै आएका आदिवासी समूहहरूबीच सो क्षेत्रमा साम्प्रदायिक हिंसाको लामो इतिहास रहिआएको छ।

खोजबिन

घटनापछि प्लेटो राज्यका तीनवटा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

घटनापछि गाउँहरूमा गरिएका खोजबिनका क्रममा ८६ जना मारिएको र ६ जना घाइते भएको पाइएको सो राज्यका प्रहरी प्रमुख युन्डी एडीले बताए।

तस्वीर कपीराइट AFP/GETTY IMAGES
Image caption फाइल तस्वीर

उनका अनुसार ५० वटा घरका साथै १५ वटा मोटरसाइकल र दुईवटा गाडी पनि जलाइएको छ।

लागोसस्थित बीबीसीका संवाददाताका अनुसार पुरानो द्वन्द्व क्रूरताको नयाँ तहमा पुगेको छ।

भिडन्त

जमिनमा पहुँच र जनावरको चरनको अधिकारलाई लिएर मध्यनाइजेरियामा किसान र फिरन्ते गोठालाहरूबीच भिडन्तहरू हुँदै आएका दृष्टान्त छन्।

तर आक्रमण र प्रत्याक्रमणका घटना अहिले साम्प्रदायिक लडाइँमा परिणत हुन थालेका छन्।

गत वर्ष त्यस्ता आक्रमण र प्रत्याक्रमणमा हजारौँ मानिसले ज्यान गुमाएका छन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
युद्धको हतियारका रूपमा प्रयोग भएका महिला

फिरन्ते गोठालाहरू फुलानी आदिवासी हुन् जसमध्ये अधिकांश मुस्लिम छन् भने किसानहरू मुख्यतया ईसाई हुन्।