‘११ महिनाभित्र तातोपानी नाका पुन: सञ्चालनमा’

  • 26 जुन 2018
तातोपानी

नेपाल-चीनबीच कुनै बेला निकै चल्तीमा रहेको नाका तातोपानी अबको ११ महिनाभित्र सञ्चालनमा आउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

मङ्गलवार संसद्‌मा आफ्नो चीन भ्रमणबारे जानकारी गराएका प्रधानमन्त्रीले चिनियाँ पक्षसँग भएको सहमति अनुसार सन् २०१९ को मे महिना अर्थात् आगामी जेठ महिनासम्ममा उक्त नाका खोलिने बताएका हुन्।

चीन र नेपालबीच तत्कालीन समयमा एकमात्र अन्तर्राष्ट्रिय नाकाका रूपमा प्रयोग हुँदै आएको उक्त नाका २०७२ वैशाखको भूकम्पपछि बन्द छ।

प्रधानमन्त्रीको हालैको चीन भ्रमणमा उक्त नाका छिटो खोल्ने सहमति चिनियाँ पक्षसँग भएको संयुक्त वक्तव्यमा उल्लेख थियो।

तर त्यसमा स्पष्ट मिति भने खुलाइएको थिएन।

तस्वीर कपीराइट PM'S SECRETARIAT

संसद्‌मा जवाफ दिने क्रममा प्रधानमन्त्रीले नाका खुल्ने मितिसमेत खुलाएका हुन्।

शङ्का

भूकम्पीय जोखिमका कारण उक्त नाका तत्काल पुन: सञ्चालनमा आउन नसक्ने भन्दै चीनले केरुङ नाकालाई नेपाल जोड्ने अन्तर्राष्ट्रिय प्रवेशविन्दुका रूपमा प्रयोगमा ल्याएको थियो।

लामो समय केरुङ नाकाबाट सवारी साधन आवागमन र मालसामान ढुवानी गर्न कठिन भएको भन्दै तातोपानी नाका सञ्चालनका लागि आग्रह गर्ने गरिए पनि चिनियाँ पक्षले खासै चासो नदिने गरेको नेपाली अधिकारीहरूले बताउँदै आएका थिए।

कतिपयले उक्त क्षेत्रमा तिब्बती शरणार्थीहरूको 'चीनविरोधी गतिविधि बढ्दै गएपछि' खासाको बजार हटाउने योजनानुसार चीनले नाका सञ्चालन नगरेको टिप्पणी गर्ने गरेका छन्।

भूकम्प र भोटेकोशीको बाढीले उक्त नाका जोड्ने सडकहरू जोखिमपूर्ण अवस्थामा रहेको बताइएको छ।

चीनको खासा बजारदेखि मितेरी पुलसम्मको बाटो निर्माणको काम भइरहेको तर उक्त पुलदेखि नेपालको बाह्रबिसेसम्मको सडक भने मर्मत गर्न बाँकी रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।

नाका सञ्चालनसँगै सडक मर्मत र चौडा गरिनुपर्ने माग स्थानीय बासिन्दाहरूले राख्दै आएका छन्।

सम्बन्धित सामग्री