'चीनको बन्दरगाह प्रयोग गर्ने बाटो खुल्ने'

  • 26 जुन 2018
तस्वीर कपीराइट RSS
Image caption प्रधानमन्त्री ओलीले पारवहन सम्झौताको कार्यान्यनका लागि आवश्यक पर्ने प्रोटोकललाई आगामी महिना दुईपक्षीय बैठकमार्फत टुङग्याउने बताए

प्रधानमन्त्री केपी ओलीले चीनसँग दुई वर्षअघि भएको पारवहन सम्झौताको कार्यान्वयनका लागि आवश्यक पर्ने कार्यविधि अर्थात प्रोटोकलमा आगामी महिना हस्ताक्षर हुने बताएका छन्।

मंगलवार संसदमा आफ्नो चीन भ्रमणको उपलब्धिका बारेमा जानकारी गराउँदै सम्झौता भए यता बनेका सरकारले त्यसलाई अगाडि नबढाएको आरोप समेत लगाए।

दुई देशको प्राविधिक स्तरमा एक पटक छलफल भैसकेको उक्त प्रोटोकलमा प्रयोग गर्न पाउने बन्दरगाह लगायतका केही प्राविधिक विषयमा सहमति जुट्न बाँकी रहेको बताइएको छ।

नेपाल-चीन रेलः लगानीबारे ओलीले खोले मुख

ओलीको त्यो भ्रमण, यो भ्रमण

दुई वर्षअघि केपी ओली नै प्रधानमन्त्री भएका बेला चीनसँग भएको पारवहन सम्झौतालाई सबै भन्दा ठूलो उपलब्धिको रुपमा हेरिएको थियो।

हस्ताक्षर

तर उनकै दोस्रो पटक भएको भ्रमणमा उक्त सम्झौताका लागि महत्वपूर्ण मानिएको कार्यविधि अर्थात प्रोटोकलमा भने हस्ताक्षर नभएको भन्दै विभिन्न क्षेत्रबाट आलोचना भैरहेको छ।

मंगलवारको संसद बैठकमा आफ्नो भ्रमणको उपलब्धिको फेहरिस्त सुनाएका प्रधानमन्त्री ओलीले पारवहन सम्झौताको कार्यान्यनका लागि आवश्यक पर्ने प्रोटोकललाई आगामी महिना दुईपक्षीय बैठकमार्फत टुङग्याउने बताए।

विपक्षी सांसदले सोधेका प्रश्नको जवाफ दिँदै उनले भने, "अलिकति छलफलको क्रम बाँकी रह्यो। मैले स्पष्ट पारेको छु आउँदो जुलाईमा प्रोटोकल तयार पनि हुन्छ र सम्झौता पनि हुन्छ। संयुक्त वक्तव्यमा प्रोटोकल तयार पार्ने विषय पनि उल्लेख छ।"

उक्त प्रोटोकलमा दुईपक्ष बीचमा हस्ताक्षर भए पछि नेपालले तेस्रो मुलुकबाट चीन हुँदै सामान आयात निर्यात गर्ने बाटो खुल्ने छ। हाल यस्तो सम्झौता भारतसँग मात्रै छ।

आरोप

प्रधानमन्त्रीले घुमाउरो भाषामा यसअघिका सरकारले त्यसमा काम नगरेको आरोप समेत लगाए।

उनले भने, "समझदारी गरिएको लगतै जसो म सरकारबाट हटें। पहिले त त्यो पारवहन सम्झौता कहाँ छ भनेर खोज्नै समय लाग्ने गरी कुन पत्र मुनि परेको थियो, त्यसलाई निकालेर धुलो टकटक्याएर त्यसलाई अगाडि बढाइयो।"

सम्झौता अनुरुप प्रोटोकल कस्तो बनाउने भन्ने बारेमा दुई सरकारको सहसचिव स्तरमा यस अघि नै छलफल भएर त्यही अनुसारको मस्यौदा बनाएर आदानप्रदान र सुधारको काम भैरहेको वाणिज्य मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

टुङगोमा पुग्न बाँकी विषय के हुन त? उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भने, "हाम्रो पक्षबाट गर्नु पर्ने धेरै जसो तयारीहरु भइसकेको छ। कुन कुन बन्दरगाह प्रयोग गर्न पाउने त्यस पछि सामान ल्याउन सडक र रेल मार्ग पनि चाहिन्छ कुन मार्ग प्रयोग गर्न पाउने भन्ने र सुख्खा बन्दगाह कुन हुने भन्ने निर्धारण हुन बाँकी छ।"

सम्झौता गर्नुभन्दा पहिले सचिव वा सहसचिव स्तरमा छलफल गरेर टुङग्याउने भन्ने बारेमा मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा छलफल भइरहेको पनि बताइएको छ।