राजमार्गमा पहिरो: कारण र निराकरणका उपाय

  • 29 जुन 2018
राजमार्ग अवरुद्ध

गृह मन्त्रालयले हालै सार्वजनिक गरेको विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजनामा देशका प्रमुख राजमार्गहरूमा नियमित पहिरो गइराखेको ‌औँल्याउँदै सजग रहन सम्बन्धित निकायलाई सचेत गराएको छ ।

त्रिभुवन, पृथ्वी, अरनिको र सिद्धार्थ राजमार्ग एवम् नारायणगढ-मुग्लिन सडकखण्डमा प्रत्येक बर्खामा र अघिपछि पनि पहिरोको समस्या दोहोरिने गरेको छ।

कारण

नदी किनारमा बनाइएका अधिकांश मार्गहरू 'चलायमान भूभाग' मा रहेका छन्।

विज्ञहरूका अनुसार सडक निर्माण गर्दा काटिएका स्थानको व्यवस्थापन गर्न नसक्दा मानिसहरूको ज्यान नै लिने गरी उही स्थानमा पहिरो दोहोरिने गरेका छन्।

सडकसँगै जोडिएका भीरमा सामान्य 'बायो इन्जिनियरिङ' र फेद पर्खाल निर्माण गरेर मात्र समस्या निराकरण गरिएको सोच्नु अनुपयुक्त भएको धारणा त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्रका सहप्राध्यापक रञ्जनकुमार दाहालको छ।

उनी भन्छन्, "अलिकति बजेट बढाएर पहाड काटिएका ठाउँमा अलिकति माथिसम्म ध्यान दिन सके यो समस्या कम हुन सक्छ।"

मुग्लिन‍-नारायणगढ खण्डमा तत्कालै गर्नुपर्ने कामहरूलाई थाँती राखेर "केही भए अर्को वर्ष हेरौँला" भन्ने प्रवृत्ति देखिएको उनको ठम्याइ छ।

पहाडी भेगमा पहिला सडक निर्माण गर्दा कमजोर भूभागलाई ताछिएको थियो। तर अहिले तिनलाई फराकिलो पार्दा पहाडको भाग काट्ने गरेको पाइन्छ।

पहिरोको जोखिम भएका केही स्थानमा तारका जालीले बारेर ढुङ्गा राखिएको भएपनि त्यो उपाय पहिरो रोक्न प्रभावकारी भएको छैन।

विकल्प

भूकम्पले प्रभावित भएको अरनिको राजमार्गमा भने पहिरोको शिरमा चिरा परेर निरन्तर सुख्खा र हिले पहिरो गइराखेको जानकारहरू बताउँछन्।

धेरै वर्षदेखि पहिरो जान थालेको सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबाजस्ता ठाउँमा भने नयाँ विकल्पमै जाने योजना बनाइएको बताउँछन् सडक विभागका उपमहानिर्देशक अर्जुनजंग थापा।

उनी भन्छन्, "माथिबाट खस्ने ढुङ्गालाई छेकेर पुलजस्तो बनाउने र ढुङ्गाहरु गुड्केर सीधै खोलामा खस्ने वा सुरुङमार्ग बनाउनेमध्ये एउटा विकल्पमा हामी तत्काल जाँदैछौँ।"

यद्यपि 'रक सेडिङ' भनिने ढुङ्गा रोक्ने छानो वा सुरुङमार्गजस्ता विकल्प निर्माणमा भने सडक विभागसँग पर्याप्त अनुभव र जनशक्ति छैन।

बरु उसले पहिरो आउनसक्ने राजमार्गका विभिन्न ठाउँमा बर्खाभरि उपकरण र जनशक्ति परिचालन गर्ने गरेको छ।

तर विभागसँग उपलब्ध ज्ञान एवम् स्रोतका भरमा कृष्णभीर र जोगीमाराजस्ता स्थानमा भएका पहिरोलाई स्थिर बनाइएका उदहारणहरु पनि छन्।

'हरित सडक'

पहिरो स्थिर बनाउँदै सुरक्षित बाटो निर्माणको काम हतारोमा सम्भव नहुने हुँदा त्यो काम क्रमिक रूपमा गरिनुपर्ने बताउँछन् भूगर्भविद् प्राध्यपक विष्णु डंगोल।

उनी भन्छन्, "प्रकृतिसँग अनुकूलन गराउँदै काटिएका पहिरो जानसक्ने भागलाई स्थिर बनाउँदै निर्माण गर्न सके दिगो रूपमा बलिया सडक बन्छन्।"

उनले भनेजस्तो हरित सडकको अवधारणामा बनेका गजुरी-धादिङबेंसी सडकहरू प्राकृतिक विपद्को असरबाट जोगिएका पाइन्छन् ।

उता विशेषज्ञहरूका सुझावविपरीत नेपालमा भौगर्भिक अध्ययनविनै पहाडी भेगमा जथाभावी सोझै डोजर प्रयोग गरेर ट्रयाक खोलिँदा त्यसले सडकको जग समेत कमजोर बनाउनसक्ने बताइन्छ।

त्यसबाहेक चट्टान र माटोबीचको सम्बन्धबारे गहिरो अध्ययन हुनुपर्ने आवश्यकता विज्ञहरुले औँल्याएका छन्।

सम्बन्धित सामग्री

सम्बन्धित समाचार