शेरबहादुर तामाङसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

शेरबहादुर तामाङसँग

  • 27 जुन 2018

द्वन्द्वकालमा आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएदेखि गहिरो शोकमा परेकी गङ्गामाया अधिकारीले दोषीलाई कारबाही माग गर्दै सङ्घर्ष गरेको १४ वर्ष भइसकेको छ।

यसअघि उनका श्रीमान् नन्दप्रसाद अधिकारीले त्यही माग राख्दै लामो अनशन बसेका थिए। अनशनमै हुँदा ३२९ दिनपछि २०७१ साल असोजमा उनको ज्यान गयो।

कतैबाट आफ्नो सुनुवाइ नभएको भन्दै वीर अस्पतालको शय्याबाटै गङ्गामायाले पुन: अनशन थालेको पनि २९ दिन बितिसक्यो।

राष्ट्रिय मानव अधिकार आयोगदेखि एमनेस्टी इन्टर्न्याश्नलसम्मका मानव अधिकारवादी संस्थाले उनको जीवनरक्षाका निम्ति अपिल गरेका छन्।

सरकार गम्भीर

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बीबीसीको 'नेपाल सन्दर्भ'मा कुरा गर्दै आफूहरू गङ्गामायाको ज्यान बचाउन सम्भव भएका सबै प्रयास गर्न तयार रहेको बताएका छन्।

"ज्यानभन्दा ठूलो अरू थोक हुँदैन। त्यसैले गङ्गामायाको जीवन रक्षाका निम्ति आवश्यक कदम चाल्न सरकार चाहन्छ। यो समस्याको समाधान छिट्टै हुनेछ," उनले भने।

तर मन्त्री तामाङले गङ्गामायाले उठाएको मागलाई सम्बोधन गर्ने सरकारको ठोस तयारीबारे भने खुलस्त बताएनन्।

वास्तवमा दुई वर्ष अगाडिनै सर्वोच्च अदालतले कृष्णप्रसादको हत्याको सिलसिलामा नामै तोकेर पक्राउ गरी छानविन गर्न आदेश दिएको थियो।

तर हालसम्म त्यसको कार्यान्वयन नभएकोमा मानवअधिकारवादीहरूले सरकारको नियतमाथि प्रश्न उठाउँदै आएका छन्।

सुन्नुहोस् 'नेपाल सन्दर्भ' मा उनीसँग गरिएको कुराकानी।

पुराना समाचार