'बन्दी दुर्व्यवहारको साक्षी ब्रिटेन'

  • 28 जुन 2018
बन्दी तस्वीर कपीराइट Getty Images
Image caption ब्रिटिश संसदको एक समितिले भनेको छ, अमेरिकाले केही बन्दीहरुमाथि गरेको दुर्व्यवहारका बारे युकेलाई पूर्ण जानकारी रहेको भन्नेमा कुनै शंका छैन

ब्रिटेनको एउटा संसदीय समितिले अमेरिकाले गर्ने गरेको बन्दीहरुको ओसारपसार र यातनाका गतिविधिहरुमा आफ्नो देशको भूमिकाका सम्बन्धमा एक आलोचनात्मक प्रतिवेदन सार्वजनिक गरेको छ।

सेप्टेम्बर ११ मा अमेरिकामा भएका हमलाहरुपछि ब्रिटेनले 'अस्वीकार्य कदमहरु चालेको र सहन गरेको' उक्त प्रतिवेदनमा उल्लेख छ।

उक्त संसदीय समितिको अनुसन्धानले पत्ता लगाए अनुसार युकेका गुप्तचर निकायहरुलाई बन्दीहरुमाथि भएका दुर्व्यवहारका बारेमा थाहा थियो।

उनीहरुले अरुहरुको कार्वाहीमा सुझाव दिएको, योजना बनाइदिएको र सहमति जनाएको पनि समितिले जनाएको छ।

ब्रिटेनका सांसदहरुको एउटा समितिको छानबिनले पत्ता लगाए अनुसार सेप्टेम्बर ११ मा अमेरिकामा भएका हमलाहरुपछि अमेरिकी कब्जामा रहेका बन्दीहरुमाथि भएका 'अस्वीकार्य दुर्व्यवहार' लाई युकेले सहन गरेको थियो।

ब्रिटिश संसदको इन्टीलिजेन्स एण्ड सेक्युरिटी कमिटि (आईएससी) ले भनेको छ, अमेरिकाले केही बन्दीहरुमाथि गरेको दुर्व्यवहारका बारे युकेलाई पूर्ण जानकारी रहेको भन्नेमा कुनै शंका छैन।

आइएससीले त्यस्ता दुर्व्यवहारका घटनालाई जानाजान नदेखेको जस्तो गर्ने नीति नै रहेको भन्ने प्रमाण चाहिं फेला पार्न सकेन।

अनुसन्धान

उक्त संसदीय समूहका अध्यक्ष केन क्लार्कले सत्य पत्ता लगाउन त्यस्ता घटनाका सम्बन्धमा युकेको भूमिकाबारे स्वतन्त्र अनुसन्धानका लागि आह्वान गरेका छन्।

आइएससीको प्रतिवेदनका अनुसार बन्दीहरुमाथि दुर्व्यवहार भएको भनी ब्रिटिश अधिकारीहरुलाई थाहा भएका वा उनीहरुले आशंका गरेका २३२ वटा घटनाहरुका सम्बन्धमा युकेले साझेदार राष्ट्रहरुलाई गोप्य सूचनाहरु उपलब्ध गराउन जारी राखेको थियो।

प्रधानमन्त्री टरिजा मे ले ब्रिटिश अधिकारीहरु, उनकै शब्दमा, नयां र चुनौतीपूर्ण वातावरणमा क्रियाशील रहनु परेको र केहीका लागि तिनीहरु तयार नरहेको पनि बताएकी छिन्।

आइएससीले आफ्नो प्रतिवेदनमा रहेका विवरणहरुलाई छिटपुट घटना भनि गुप्तचर निकायहरुले गरेका दावीलाई अस्वीकार गरेको छ।

बीबीसीका सुरक्षा सम्बादाता गोर्डन कोरेरा भन्छन्, उक्त प्रतिवेदनमा दुर्व्यवहारका घटनामा ब्रिटिश गुप्चतर निकायहरुको प्रत्यक्ष संलग्नता रहेको कुनै प्रमाण नरहेको बताइएको छ।

तर अरुहरुले बन्दीहरुलाई दुर्व्यवहार गरेको ब्रिटिश गुप्तचरहरुले प्रत्यक्ष देखेका १३ वटा घटनाहरुको भने चर्चा गरिएको छ।