मानो रोपेर मुरी फलाउने बेला
असार १५। देशभरि धान रोपाइँ गर्ने दिन, हिलो खेल्ने दिन, दहीचिउरा खाने दिन। ठाउँअनुसार भिन्न परम्पराहरू भए पनि कृषकहरूसँग जोडिएको महत्त्वपूर्ण दिन।

आधुनिक कृषिको कुरा गर्ने गरिए पनि देशका अधिकांश स्थानमा अझै परम्परागत रूपमै धान रोप्ने गरेको पाइन्छ।
तस्बिर स्रोत, RSS
धानको बोट उखेल्नेदेखि रोप्ने काममा प्राय: महिलाहरू नै संलग्न हुन्छन्। खेत हिल्याउने र आली खन्ने काम चाहिँ पुरुषहरूको जिम्मामा पर्छ। रोपाइँको मेलामा गएका मानिसहरू विभिन्न भाकामा गीत गाएर रमाइलो पनि गर्छन्।
सरकारी आँकडा अनुसार खेतीयोग्य भूमिको ३८ प्रतिशतमा मात्र सिँचाइ पुगेकाले देशको प्रमुख बालीका रूपमा रहेको धान बाली लगाउन आकाशेपानीको भर पर्नुपर्ने अवस्था छ।
मानो खाएर मुरी फलाउने समय भनेर पनि चिनिने असार १५ का दिन युवायुवतीहरू रमाइलो गर्न पनि हिल्याइएको खेतमा छिर्छन्।
केटाकेटीहरूलाई रोपाइँ गरेको हेर्न तथा धान रोप्न सिक्न हिलो खेतमा जान्छन्।
जुम्लामा ढिलो रोप्दा तापक्रमका कारण धान नपाक्ने हुनाले जेठमा नै रोपाइँ गर्ने चलन छ।
पहाडतिर रोपाइँमा महिलाको बाहुल्य रहने गरेको भए पनि तराईमा भने पुरुषहरू रोपाइँमा सक्रिय हुन्छन्।
असारको १५ का दिन दहीचिउरा खाने प्रचलन छ।
तस्बिर स्रोत, RSS
डेढ दशकदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा पनि मनाइन्छ। यसलाई मनोरञ्जनात्मक बनाउन कतैकतै हिले दौड पनि आयोजना गर्ने गरिएको छ।