डा. केसीद्वारा १५ औं अनशन सुरु

  • 30 जुन 2018
डा. गोविन्द केसी

सरकारले चिकित्सा शिक्षासम्बन्धी प्रतिस्थापन विधेयकमा व्यापक फेरबदल गर्ने निर्णय गरेको भोलिपल्ट डाक्टर गोविन्द केसीले आफ्नो अनशन सुरु गरेका छन्।

आफ्नो १५औं अनसन जुम्लामा सुरु गरेका केसीले चिकित्सा शिक्षा अध्यादेशका प्रावधान नफेरी विधेयक ल्याउनुपर्ने लगायतका माग राखेका छन्।

काठमाण्डू उपत्यकामा अबको १० वर्ष मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले पाँचवटाभन्दा मेडिकल कलेजलाई सम्बन्धन दिन नपाइने लगायतका प्रावधान हटाएर सरकारले प्रतिस्थापन विधेयक ल्याएको छ।

अनसन सुरु गर्नुअघि निषेधित क्षेत्र तोडेको भन्दै पक्राउ गरिएका डा. गोविन्द केसीलाई प्रहरीले नजिकैको कभर्ड हलमा पुर्‍याएको हाम्रो जुम्लास्थित संवाददाता कृष्णमाया उपाध्यायले बताएकी छन्।

प्रहरीले निषेधित क्षेत्रमा अनशन बसेकाले डा. केसीलाई कभर्ड हलमा छोडिएको तर आफ्नो नियन्त्रणमा नराखिएको दाबी गरेको छ।

तर डा. केसीले चाहिँ प्रहरीले उसले चाहेको ठाउँमा भएकोले आफू प्रहरी नियन्त्रणमै भएको सञ्चारकर्मीहरूलाई बताएका छन्।

'प्रहरी नियन्त्रणमा'

उनले भने, "मेरै इच्छा अनुसार बस्न पाएको भए त म स्वास्थ्य विज्ञान प्रतिष्ठानमै बसिहाल्थेँ नि। मलाई प्रहरीले यहाँ ल्याएर राखेको हो।"

शनिवार दिउँसो २ बजे उनलाई नियन्त्रणमा लिइएको जुम्लाका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले बताए।

दाहालले भने, "उहाँले पहिला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निषेधित क्षेत्र तोड्नु भयो हामीले हटायौं, त्यसपछि फेरि जिल्ला प्रशासन कार्यालयको निषेधित क्षेत्र तोड्नुभयो। त्यसैले उहाँलाई हामीले त्यहाँबाट जिल्ला प्रहरी कार्यालयमा ल्याएका थियौं।"

त्यसरी पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पुर्‍याइएका डाक्टर केसीलाई त्यहाँस्थित प्रतिक्षालयमा राखिएको थियो।

डा. केसीले प्रतिक्षालयबाटै आफ्नो १५ औं अनशन थालेका थिए।

डा गोविन्द केसी रिहा, अनशनलाई निरन्तरता

अदालतको आदेशपछि डा. गोविन्द केसी पक्राउ

अनन सुरु

प्रहरीले पक्राउ गरे पनि गोविन्द केसीले आफ्नो अनशन कायमै राख्ने पत्रकारहरूलाई बताएका छन्।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले, "उहाँले निषेधित क्षेत्र तोडेका कारणमात्रै जिल्ला प्रहरी कार्यालय ल्याएका हौं। अन्यत्र अनशन गर्न हामीले रोकेका हौइनौं"।

जुम्लामा अनशन गर्नका लागि राजासिम चौर तोकिएको पनि पौडेलले बताए।

जुम्लामा जिल्ला प्रशासन कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुईसय मिटर क्षेत्रलाई निषेधित क्षेत्र भनी गत बैशाख १८ गतेदेखि घोषणा गरिएको पौडेलले जानकारी दिए।