भारत: दिल्लीमा एकै परिवारका ११ जनाको रहस्यमय मृत्यु

बुराडी, दिल्ली

भारतको राजधानी दिल्लीस्थित एउटा घरमा एकै परिवारका ११ सदस्यलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

तीमध्ये १० जनाको शव पासो लगाएर झुन्डिएको अवस्थामा र ७५ वर्ष छेउछाउकी एक वृद्धाको शव अर्को कोठाको भुइँमा भेटिएको थियो।

सात महिला र तीन बच्चासहित अधिकांश मृतकहरूका हात ढाडतिर लगेर बाँधिएका, आँखामा तन्नाको टुक्राले पट्टी बाँधिएको र मुखमा बुजो हालिएको थियो।

कारण अस्पष्ट

त्यस प्रकृतिको रहस्यमय मृत्युको कारण र उद्देश्य स्पष्ट भएको छैन। तर प्रहरीले हत्याका सम्भावनालाई अस्वीकार गरिसकेको छैन।

छिमेकीहरूले सो परिवार धार्मिक प्रवृत्तिको भएको बताएका छन्।

प्रहरीले जारी गरेको एउटा विज्ञप्तिमा सो परिवारले "रहस्यमय रीतिहरू" अभ्यास गर्दै आएको प्रमाण भेटिएको उल्लेख गरिएको छ।

तस्बिरको क्याप्शन,

सो घरमा पालिएको कुकुर भने जीवितै भेटियो

सो घरमा प्राप्त हस्तलिखित टिपोटलाई आधार मान्दै प्रहरीले "निश्चित आध्यात्मिक एवम् रहस्यमय अभ्यास" को ती मृत्युहरूसँग सम्बन्ध भएको हुनसक्ने सङ्केत पाइएको जनाएको हो।

मोक्षका लागि?

उत्तरी दिल्लीका एक वरिष्ठ प्रहरी अधिकारी विनीत कुमारका अनुसार मृत्युको शैली टिपोटमा लेखिए जस्तै छ। मुख र आँखा छोप्ने तरिका पनि सो टिपोटमा उल्लेख गरिएको जस्तै पाइएको उनले बताए।

घरमा भेटिएका दुईवटा खातामा 'मोक्ष प्राप्त गर्ने उपाय'बारे चर्चा भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानकै आधारमा हत्या वा आत्महत्या के हो भनेर प्रहरीले छु्ट्याउन सकेको छैन।

थप अनुसन्धानका लागि प्रहरीले शवपरीक्षणको परिणाम, छिमेकीहरूको बयान र सो क्षेत्रमा भएका सीसीटीभी दृष्यहरूको परीक्षण कुरिराखेको छ।

पृष्ठभूमि

एक प्रहरी अधिकारीले समाचार संस्था एएफपीलाई "के भएको थियो भनेर सबै थाहा हुने बेला भइनसकेको" बताएका छन्।

"अनुसन्धान हुँदैछ र हामीले केही कुरा पनि नकारिसकेका छैनौँ," उनले भने।

राजस्थान मूल थातथलो भएको सो परिवार दिल्लीको बुराडी क्षेत्रमा २० वर्षभन्दा बढी समयदेखि बस्दै आएको थियो।

आफू बसेको तीनतले घरको भुइँतल्लामा उनीहरू एउटा पसल सञ्चालन गर्ने गर्थे।

तस्बिरको क्याप्शन,

छिमेकी गुरचरण सिंहले शवहरू पहिलो चोटि देखेका थिए

आइतवार बिहान सो परिवारले सञ्चालन गरेको किराना पसलमा दूध किन्न गएका एक जना छिमेकीले ती शवहरू पहिलो चोटि देखेका थिए।

"म पसलमा छिर्दा सबै ढोकाहरू खुल्ला थिए र हात बाँधिएको अवस्थामा सबै जनाको शरीर झुन्डिरहेका थिए," गुरचरण सिंहले बीबीसी हिन्दीलाई बताए।

त्यसपछि उनले प्रहरीलाई खबर गरे।

पासोमा झुन्डिएका मृतकमध्ये दुई जना दाजुभाइ, तिनका श्रीमती र छोराछोरी भएका बताइएको छ। वृद्धा भने ती दाजुभाइकी आमा थिइन्।

उनीहरूको घरमा पालिएको कुकुर भने जीवितै भेटिएको छ।

सो घटनाको समाचार सुनेर छिमेकीहरू स्तब्ध भएका बीबीसी हिन्दीले जनाएको छ।

मृतकका छिमेकी र नातेदारहरूले त्यो परिवार सुखी र सम्पन्न रहेको एवम् स्थानीय समुदायमा मिलेर बसेको स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्।