विश्वकप २०१८: ब्राजिलले हरायो मेक्सिकोलाई

नेमार

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

विश्वकपको एक प्रमुख दाबेदार मानिएको ब्राजिलले मध्यान्तर सकिए लगत्तै मेक्सिको विरुद्ध अग्रता लिएको थियो

शून्य विरुद्ध दुई गोलले मेक्सिकोलाई हराएर विश्वकपको एक प्रमुख दाबेदार मानिएको ब्राजिल क्वाटर फाइनलमा पुगेको छ।

ब्राजिलले मध्यान्तर सकिए लगत्तै मेक्सिको विरुद्ध अग्रता लिएको थियो।

२६ वर्षीय नेमारले पहिलो गोल गरेका थिए।

खेल सकिनु केही मिनट अघि ब्राजिलकै रोबर्टो फर्मिनोले दोश्रो गोल गरेका थिए।

रुस विश्वकपको आफ्नो पहिलो खेलमा ब्राजिल स्विट्जरल्याण्डसँग बराबरीमा रोकिएको थियो भने सन् २०१४ मा विश्वकप विजेता जर्मनीले मेक्सिकोसँग पराजय व्यहोरेको थियो।

पाँच पटक विश्व कप विजेता ब्राजिलले यसपटक पनि विश्व कप जित्ने लक्ष्य लिएको छ।

अग्रपङ्क्ति

टिटेको प्रशिक्षणमा रहेको ब्राजिलका तर्फबाट ग्याब्रिएल जिसस र विलियन अनि नेमार अग्रपङ्क्तिबाट खेलेका थिए।

चार वर्षअघि आफ्ना स्ट्राइकर नेमारमा मात्रै निर्भर रहेको ब्राजिलले अहिले आफूलाई एकदमै फरक टोलीका रूपमा उभ्याएको छ।

त्यसको पर्दा पछाडिका नायक प्रशिक्षक टिटे हुन् जसले नेमार जत्तिकै चर्चा ब्राजिलमा पाइरहेका छन्।

सन् २०१२ को लन्डन ओलिम्पिक्समा ब्राजिललाई हराएर मेक्सिकोले स्वर्ण पदक जितेको थियो ।

मेक्सिकोले चार वर्षअगाडिको विश्वकप समूह चरणमा पनि ब्राजिललाई गोलरहित बराबरीमा रोकेको थियो ।

रुसमा आयोजित विश्वकपमा ३२ राष्ट्र सहभागी हुँदैछन्।

जुलाई १५ मा हुने अन्तिम खेलले यो वर्षको विश्वकप कसले जित्ने हो भन्ने सुनिश्चित गर्ने छ।