डुबानमा परेपछि किसानले भत्काए गण्डक नहरको डिल

  • 3 जुलाई 2018
गण्डक बाँधको डिल

नवलपरासी सुस्ताका किसानहरूले आफ्नो खेत फेरि डुबानमा परेपछि पश्चिमी गण्डक नहरको डिल भत्काइदिएको बताएका छन्।

नेपाल र भारतबीच भएको गण्डक सम्झौताअनुसार प्रभावित क्षेत्रमा हुने डुबान तथा कटान रोक्ने जिम्मा भारतीय पक्षको हो। तर सम्झौताअनुसार काम नभएको भन्दै नहर भत्काउनु परेको स्थानीय किसानहरूले बताएका छन्।

केही दिनदेखि निरन्तर भएको वर्षाका कारण भर्खरै रोपाइँ गरेको धानखेत डुबानमा परेपछि डिल भत्काएर पानी गण्डक नहरमा खसाल्नुको विकल्प नरहेको सुस्ता गाउँपालिका वडा नं २ का किसान भीम न्यौपानेले बताएकाछन्।

उनी भन्छन्, "खेत तलतिर अनि नहरको डिल माथितिर भइदियो। पानी जाने ठाउँ छैन।"

पुरानै समस्या

उनका अनुसार यो समस्या नयाँ भने हैन। नहर बनेदेखि नै डुबान बेहोर्दै आएका किसानहरूले २०४९/५० साल देखि नै आफ्नो आक्रोश व्यक्त गर्दै आएका छन्।

"सङ्घर्षकै कारण दुईवटा ह्युम पाइप राखिएको छ। तर पाइप खेतभन्दा एक मिटर माथि छ," उनी भन्छन्।

गत वर्ष पनि खेत जलमग्न भएपछि गण्डक नहरको डिल किसानहरूले भत्काइदिएका थिए।

स्थानीय किसानहरूको यस्तो अवज्ञापछि डुबानबाट प्रभावित किसानहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो।

'क्षतिपूर्ति पाएका छैनन्'

तर सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेका अनुसार किसानहरूले आजसम्म पनि क्षतिपूर्ति पाएका छैनन्।

पाण्डे भन्छन् - क्षतिपूर्तिको विषयलाई प्राथमिकता नदिइएको र पोहोरकै रिस बाँकी रहेका बेला यसपटक पनि त्यही अवस्था दोहोरिने देखेर किसानहरू आक्रोशित भएका हुन्।

वि सं २०१६ मा गण्डक नहरको निर्माणसँगै नहरको तल र माथि रहेको झन्डै ४५ सय बिगाहा खेतीयोग्य भूमि र कैयौँ घरहरू वर्षेनि डुबानमा पर्दै आएको स्थानीयवासीहरु बताउंछन्।

क्षतिपूर्तिका लागि पटकपटक आन्दोलन र सहमति हुँदै आएको भए पनि समस्या भने दोहोरिइराखेको छ।

यसको स्थायी समाधानका लागि स्थानीयभन्दा पनि दुई देशका अधिकारीहरूबीच उच्चस्तरीय कूटनीतिक प्रयासको आवश्यक भएको जानकारहरू बताउँछन्।

सम्बन्धित सामग्री