विश्वकप: ब्राजिल र बेल्जियम दुवै पक्षबाट आक्रमणको अपेक्षा

  • 6 जुलाई 2018
ब्राजिलका समर्थक तस्वीर कपीराइट Getty Images

विश्वकप २०१८ उपाधिको प्रबल दाबेदार मानिएका ब्राजिल र बेल्जियमबीच शुक्रवार राति क्वार्टर फाइनल खेल हुँदैछ।

पहिलो चरणमा दुवै टोली समूहविजेता भएका थिए।

दोस्रो चरणमा ब्राजिलले मेक्सिकोलाई २-० ले पराजित गरेको थियो भने दुई गोलले पछाडि परेको बेल्जियमले चामत्कारिक रूपमा जापानलाई ३-२ ले हराएको थियो।

ब्राजिलले पाँचचोटि विश्वकप जितेको छ। अन्तिम पटक उसले सन् २००२ मा विश्वकप जितेको थियो।

एकचोटि पनि विश्वकप नजितेको बेल्जियम सन् १९८६ पछि पहिलो पटक सेमिफाइनलमा पुग्ने आशामा छ।

ब्राजिलका नेमार, फिलिपी कुटिन्यो र गाब्रिएल जिजुस एवम् बेल्जियमका एडन हाजार्ड, रोमेलु लुकाकु, केभिन डे ब्रोनाको आक्रामक खेल एकैचोटि देख्न पाइने सम्भावना छ।

बीबीसी मोनिटरिङले दुवै राष्ट्रबाट यो खेलका बारे प्रकाशित समाचार तथा विचार सङ्कलन गरेको छ।

'मलाई किन हेरेको?'

काजानस्थित होटलमा ब्राजिलका चर्चित खेलाडी नेमार आइपुग्दा उनले नजिकैको भवनमा बनाइएको आफ्नो विशाल चित्र देखे भनेर ब्राजिलको समाचारपत्र ओ एस्टाडो ड साउ पाउलोले विवरण छापेको छ।

त्यो चित्रको तस्बिर खिचेर नेमारले समाजिक सञ्जालमा "तिमी किन मलाई हेर्दैछौ, साथी?" भन्ने शीर्षकसहित प्रेषित गरे।

तस्वीर कपीराइट Getty Images

यूओएल भन्ने वेब्साइटले नेमारकी प्रेमिका एवम् अभिनेत्री ब्रुना मार्केजिनी विश्वकपपछि अगस्टमा प्यारिस बसाइँ सर्ने सम्भावना भएको जनाएको छ।

ब्रुना ब्राजिलमा नै काम गर्ने र नेमार प्यारिस सेन्ट जर्मेनबाट खेल्ने हुँदा फ्रान्समा बस्ने भएकाले सो जोडी छुट्टिएर बसेका थिए।

'नेमारलाई रोक्ने तीन उपाय'

अन्धविश्वासले हो कि निराशाका कारणले हो ब्राजिलसँगको खेलबारे बेल्जियमका सञ्चारमाध्यम अलिक सतर्क देखिएको छ।

ले भिफले आफ्नो देशको टोलीलाई रोबर्टो फर्मिन्योप्रति ध्यान दिन भनेको छ भने टियागो सिल्भालाई विशिष्ट खेलाडी भनेर टिप्पणी गरेको छ।

ला लिब्रेले 'नेमारलाई रोक्ने तीन उपाय' भनेर सुझाव दिएको छ।

तस्वीर कपीराइट Getty Images

'मैदानको पनि कान हुन्छ'

ब्राजिलको पत्रिका ओ एस्टाडो ड साउ पाउलोले बेल्जियमका लुकाकु र विट्सेललगायत केही खेलाडीले पोर्चुगिज भाषा बोल्नसक्ने उल्लेख गरेको छ।

आफ्नो भाषा बुझ्ने भएकाले खेल भएको बेला उनीहरूले आफूविरुद्ध 'गुप्तचरी' गर्नसक्ने भनेर चेतावनी दिएको छ।

अब ब्राजिलको टोलीले मैदानमा आफ्नो रणनीतिबारे कुरा गर्ने छैन।