पुनर्निर्माण प्राधिकरण प्रमुख ‘जिम्मेवारी मुक्त’

पुनर्निर्माण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आइतवारबाट आफू जिम्मेवारीबाट मुक्त भएको बताएका छन्।

निर्वाचन आचारसंहिता लागु भएपछि भएका नियुक्तिहरू खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय आफ्नो हकमा पनि लागु हुने सरकारको आशय पाएको भन्दै जिम्मेवारी छाड्ने निर्णय गरेको उनले बताए।

तीन वर्षयता प्राधिकरणको नेतृत्व चार पटक फेरिएको छ।

गत वर्षको कार्तिक ६ गते नियुक्त भएका प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालले पदमुक्त हुन लागेको बीबीसीलाई बताएका हुन्।

खारेज

उनले भने, "भदौ १४ गतेदेखि फागुन २ गतेसम्म भएका निर्णयहरू खारेज गर्ने भनिएपछि म त्यसको सम्मान गर्छु। त्यसैअनुसार मैले जिम्मेवारीबाट फुर्सद पाएँ। अवसरका लागि दुवै सरकारप्रति आभारी छु।"

नेपाली कांग्रेस नेतृत्वको सरकारको पालामा नौ महिनाअघि उक्त पदमा नियुक्त भएका भुसालले कांग्रेस सरकारको पालामा चार महिना र त्यसपछि झण्डै पाँच महिना प्राधिकरणमा बिताए।

भुसालले पुनर्निर्माण परामर्श परिषद्को बैठक र प्रधानमन्त्रीको नेतृत्वमा बस्ने निर्देशक समितिको बैठकबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार जाँदा आफ्नो पद नरहनेबारे जानकारी पाएको बताए।

यसै हप्ता बस्ने तय भएको ती दुवै समितिको बैठक स्थगित भएको बताइएको छ।

रिक्त हुने उक्त पदमा चाँडै नै नियुक्ति गरिने सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए।

नियुक्ति चाँडै

उनले थपे, "रिक्त हुने स्थानहरूलाई हामी लामो समय खाली राख्दैनौँ। तत्काल नयाँ नियुक्ति गर्छौँ।"

भुसालले आफ्नो नौ महिने कार्यकाल निजी आवास निर्माणमै केन्द्रित गरेर त्यसमा तीव्र प्रगति हासिल गरेको, जोखिममा रहेका वृद्ध तथा अपाङ्गता भएकाहरूका लागि घर निर्माणमा प्रगति भएको फेहरिस्त सुनाएका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा यसअघि पनि तीनपटक प्रमुख कार्यकारी अधिकृत परिवर्तन भइसकेका छन्।

प्राधिकरणमा सरकार परिवर्तन भएसँगै राजनीतिक नियुक्ति हुने प्रणाली बसेकोप्रति भने धेरैले आलोचना गरेका छन्।

पुनर्निर्माण जस्तो राष्ट्रिय महत्त्व र संवेदनशील विषयमा सरकारले पटक पटक नेतृत्व परिवर्तन गर्दा काममा असर पर्ने उनीहरूको भनाइ छ।