'गोविन्द केसीको मागप्रति प्रम गम्भीर पाएनौँ'

  • 8 जुलाई 2018
डाक्टर गोविन्द केसी

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १५ औं पटक अनशन बसेका डाक्टर गोविन्द केसीको माग प्रति प्रधानमन्त्री संवेदनशील नदेखिएको आरोप चिकित्सक संघले लगाएको छ।

डाक्टर केसीका माग सम्बोधन गर्न आग्रह गर्दै आइतवार प्रधानमन्त्रीलाई भेटेपछि संघका पदाधिकारीहरूले यस्तो प्रतिक्रिया दिएका हुन्।

आजदेखि कालो पट्टी बाँधेर काम गरिरहेका चिकित्सकहरूले डाक्टर केसीको माग पूरा नभए आकस्मिक बाहेकका सेवा अवरुद्ध गर्ने चेतावनी समेत दिएका छन्।

सरकारले भने अनसन रोकेर वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरिएको जनाएको छ।

संसदमा सरकार विरुद्ध कांग्रेस

गम्भीर

अनसनरत डाक्टर गोविन्द केसीको माग प्रति केही दिनअघि ऐक्यबद्धता जनाएको देशभरका चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघका पदाधिकारीहरू ज्ञापनपत्र बोकेर आईतवार प्रधानमन्त्रीलाई भेट्न गएका थिए।

आफ्नो ज्ञापनपत्रपछि प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गरेर अनशन तोडाउने लगायतका विषयमा केही पहल गर्ने आशा उनीहरूले लिएका थिए।

तर झन्डै १ घण्टासम्म कुरा गरेका प्रधानमन्त्री ओलीले उक्त विषयलाई महत्त्वका साथ लिएको जस्तो नदेखिएको चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले बताए।

उनले भने, "स्वास्थ्यमन्त्री लगायतका केही मन्त्री पनि हुनु हुन्थ्यो तर हामीले सोचेजस्तो गम्भीर रूपमा सरकारले लिए जस्तो देखिएन। प्रधानमन्त्रीले धेरै विषयमा कुरा गर्नु भयो तर जुन रुपले प्रधानमन्त्रीबाट यो विषयलाई समाधान गर्न लाग्नु पर्छ भन्ने देखिनु पर्थ्यो त्यो आभास नै पाएनौं।"

देशभरका चिकित्सकहरूले आईतवारदेखि कालोपट्टी बाँधेर केसीको अनशन प्रति ऐक्यबद्धता जनाइ सकेको र ज्ञापनपत्र बुझाएको ७२ घण्टासम्म पनि सरकारले कुनै कदम नचालेमा आन्दोलनका थप कार्यक्रम अगाडि ल्याइने चिकित्सक संघले जनाएको छ।

आन्दोलनको चर्चा प्रधानमन्त्रीसँगको भेटमा पनि भएको अध्यक्ष श्रेष्ठले बताए।

तस्वीर कपीराइट Dr. GKC Media Group

स्वास्थ्यमा समस्या

उनले भने, "हामीले दिएको ज्ञापनपत्रमा यो विषयलाई सम्बोधन गरिएन भने आपत्कालीन बाहेकका सम्पूर्ण सेवा बन्द गर्न बाध्य हुने छौं भनेका थियौं, त्यो विषयमा केन्द्रित भएर प्रधानमन्त्रीले तपाईँहरूले त्यस्तो गर्न पाउनु हुन्न भन्नु भयो तर हामीले त्यो हाम्रो अधिकार हो भनेर भन्यौं।"

केसी अनसनमा बसे यता सरकारका तर्फबाट शिक्षामन्त्री गिरीराजमणि पोखरेलले अनसन छोडेर वार्तामा आउन आग्रह गर्दै आएका छन्।

मागहरू पूरा गर्न अनसन बस्नुपर्ने र ज्ञापनपत्र बुझाउनुपर्ने अवस्था नरहेको भनाई छ प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालको।

उनले भने, "त्यसको लागि चिकित्सक संघले ज्ञापनपत्र दिनुपर्ने समय सीमा तोक्नु पर्ने जरुरी छैन भन्ने हाम्रो भनाइ हो। किनभने हामी पनि उहाँको जीवनरक्षाको चिन्तामा नै छौं। उहाँ जतिको मानिस अनशनमा बसेर दुख गरिरहनु पर्दैन।"

जुम्लाको सदरमुकाम खलंगामा ९ दिनदेखि अनसन बस्दै आएका डाक्टर केसीलाई मांसपेशी बाउँडिने, टाउको दुख्ने र चक्कर लाग्ने जस्ता समस्या देखिएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

सम्बन्धित सामग्री