'संक्रमणकालीन न्यायको संशोधन पीडकमुखी'

  • 12 जुलाई 2018
मानवअधिकार आयोग तस्वीर कपीराइट NHRC

सरकारले संक्रमणकालीन न्याय अघि बढाउन भन्दै प्रस्ताव गरेको संशोधनको खाकाप्रति राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।

दण्ड प्रणाली भन्दा पनि क्षतिपूर्तिमा जोड दिइएको प्रस्तावित खाकाबारे आयोगले एक सातायता सरोकारवालाहरूसँग छलफल गरिरहेको छ।

आयोगका अध्यक्ष अनुपराज शर्माले जघन्य द्वन्द्वका अपराधहरूमा समेत उन्मुक्ति दिने गरी उक्त प्रस्ताव तयार पारिएको प्रतिक्रिया दिएका छन्।

उनले संशोधनको मस्यौदाबारे सरकारलाई चाँडै आयोगले आफ्नो राय दिने पनि जनाएका छन्।

असन्तुष्टि

आयोगका अधिकारीहरू भने संशोधन प्रस्तावले विस्तृत शान्ति सम्झौताले नै स्पष्टसँग बोलेको अन्तर्राष्ट्रिय मान्यता कुल्चनुका साथै र आयोगकै क्षमतामाथि प्रश्न उठाएको बताउँछन् ।

आयोगका अध्यक्ष अनुपराज शर्मा भन्छन्, ''संक्रमणकालीन न्यायको एउटा आधारभूत पक्ष पीडक भविष्यमा त्यस्तो काममा नलागोस् भन्ने हो । तर जघन्य अपराध गर्ने तर १०-१२ महिनामा छुट्ने व्यवस्था गर्ने हो भने त त्यसले राम्रो सन्देश दिँदैन।''

चालू ऐनमा ९ वटालाई जघन्य अपराधका रूपमा राखिएकोमा यसमा चारवटामा झारिएको छ।

जुन मानवअधिकारमुखी र पीडितमुखी दुवै नभएकाले स्वीकार्य हुन नसक्ने मत सरोकारवालाहरूले आयोगसमक्ष राखेको अधिकारीहरू बताउँछन्।

अन्तर्राष्ट्रिय चासो

संशोधनका लागि ल्याइएको विधेयकमा अपहरण अहिले जघन्य अपराधमा पर्दैन भने पीडकलाई ७५ प्रतिसतसम्म सजाय छुट दिने र भुक्तान गर्नुपर्ने जेलसजाय पनि खुला कारागारमा काट्न सकिने भन्ने छ ।

यसलाई राजनीतिक सहमतिका नाममा भएको अर्को एउटा नराम्रो अभ्यासका रूपमा अध्यक्ष शर्माले ‍औंल्याएका छन्।

उनी थप्छन्, ''राजनीतिक सहमतिकै आधारमा राजनीतिकर्मी कसैलाई नछुने, आर्मीलाई नछुने, पुलिसलाई नछुने। छुने कसलाई त?''

मस्यौदा निर्माणमा संलग्न विज्ञहरू भने अन्तराष्ट्रिय कानूनलाई देशभित्र कसरी लागु गर्ने भन्ने कुरा त्यस देशको क्षेत्राधिकार भित्रको कुरा भएकाले त्यसलाई सुझावको रूपमा ग्रहण गर्न सकिने तर त्यसलाई अझ लम्ब्याउने भन्दा पनि टुंग्याउनेतर्फ सोच्नुपर्ने बताएका छन्।

यसै साता ह्युमन राइट्स वाच, इन्टरनेसनल कमिसन अफ जुरिस्टजस्ता अन्तराष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले नयाँ मस्यौदा जघन्य अपधारसँग जुझ्ने अन्तर्राष्ट्रिय मापदण्डसँग मेल नखाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

सम्बन्धित सामग्री