विश्वकप: इङ्ग्ल्यान्डको युवा जोसले जित्ला कि क्रोएशियाको अनुभवले?

  • 11 जुलाई 2018
क्रोएशिया-इङ्ग्ल्यान्ड

बाउन्न वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गर्ने लक्ष्य राखेर युवा खेलाडीहरूल‍े सुसज्जित इङ्ग्ल्यान्डको टोलीले बुधवार राति अनुभवी क्रोएशियाली टोलीको सामना गर्दैछ।

नेपाली समयानुसार राति ११:४५ बजे मस्कोमा हुने सेमिफाइनल खेलको विजेताले फ्रान्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

इङ्ग्ल्यान्ड र क्रोएशियाबीच हुने खेल हेर्न दुवै देशबाट हजारौँ मानिसहरू रुस पुगेका छन्।

तर सबैले खेल हुने रङ्गशालामा प्रवेश गर्न टिकट पाएका छैनन्।

इतिहास

विश्वकप १९९८ को सेमिफाइनलमा क्रोएशिया फ्रान्ससँग पराजित भएको थियो।

तस्वीर कपीराइट Getty Images
Image caption स्वीडनलाई २-० गोलले पराजित गरेर इङ्ग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो

सो टोली अहिलेसम्म फाइनलमा पुगेको छैन।

यसअघि सन् १९९० पछिका विश्वकप प्रतियोगिताहरूमा इङ्ग्ल्यान्ड सेमिफाइनलसम्म पुग्न असमर्थ रहेको थियो।

विश्वकप १९९० को सेमिफाइनल खेलमा इङ्ग्ल्यान्ड तत्कालीन पश्चिम जर्मनीसँग पेनाल्टीमा पराजित भएको थियो।

टोली संरचना

इङ्ग्ल्यान्डको टोलीमा युवा खेलाडीहरू छन् भने क्रोएशियाली टोलीमा अनुभवले खारिएका खेलाडीहरू।

गत विश्वकपमा सहभागी १३ खेलाडीहरू क्रोएशियाबाट यसपालि पनि खेल्दैछन्।

तेइस-सदस्यीय इङ्ग्ल्यान्डको टोलीमा भएका १८ खेलाडीका लागि यो पहिलो विश्वकप हो।

तस्वीर कपीराइट Getty Images
Image caption क्वार्टर फाइनलमा क्रोएशियाले आयोजक रुसलाई पेनाल्टीमा पराजित गरेको थियो

क्रोएशियाका छ खेलाडीहरू ५० भन्दा बढी अन्तर्राष्ट्रिय फुटबल खेलमा सहभागी भएका छन्।

तर इङ्ग्ल्यान्डका एक खेलाडीसँग मात्र त्यति लामो अनुभव छ।

क्रोएशियाका लुका मोड्रिचसँग सर्वाधिक १११ खेलको अनुभव छ भने इङ्ग्ल्यान्डका ग्यारी केहिलले ६१ खेल खेलेका छन्।

क्रोएशियाका पाँच खेलाडीले १० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेका छन् भने इङ्ग्ल्यान्डको टोलीमा जम्मा दुई खेलाडीसँग त्यो कीर्तिमान छ।

विश्वकप २०१८ को तथ्याङ्क

समूह चरणदेखि क्वार्टर फाइनलसम्म क्रोएशियाका पक्षमा भएका कुल १० गोलमध्ये आठ खेलाडीले नौ गोल गरेका छन्। एक गोल विपक्षी खेलाडीले गरेको आत्मघाती गोल थियो।

यो तथ्याङ्कले क्रोएशियाले गोलका लागि एउटै खेलाडीमा भर पर्नुनपरेको देखाउँछ।

इङ्ग्ल्यान्डले गरेको कुल ११ गोलमा भने ह्यारी केनको योगदान उल्लेख्य छ।

तस्वीर कपीराइट PA

केनले प्रतियोगिताकै सर्वाधिक छ गोल गरेका छन्।

तीमध्ये तीन गोल पेनाल्टीमार्फत् भएका हुन्। उनी गोल्डन बुटका दाबेदार हुन्।

हालसम्म दुवै टोलीले १९-१९ चोटि लक्ष्यमा बल प्रहार गरेको तथ्याङ्क छ भने क्रोएशियाले २६ र इङ्ग्ल्यान्डले ३० चोटि कर्नर पाएका छन्।