'रक्षा खर्च बढाउने नेटो राष्ट्रहरुको वाचा'

  • 12 जुलाई 2018
नेटो तस्वीर कपीराइट Reuters
Image caption राष्ट्रपति ट्रम्पले नेटो गठबन्धनप्रति अमेरिकाको बलियो प्रतिबद्धता निरन्तर नै रहेको बताएका छन्

ब्रसल्समा आयोजित नेटोको शिखर बैठकमा अमेरिकाका साझेदार राष्ट्रहरुले आआफ्नो प्रतिरक्षा खर्च बढाउन सहमति जनाएको राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।

एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले नेटोका लागि अमेरिकाले एकदमै धेरै खर्चको बोझ बोकेको र अब त्यो अवस्थामा परिवर्तन आउनु पर्ने बताए।

उनले अमेरिकाका साझेदार राष्ट्रहरुले आफ्नो बार्षिक कुल गार्हस्थ उत्पादनको दुई प्रतिशत भन्दा बढी प्रतिरक्षा बजेटका लागि छुट्याउने जनाएका थिए।

तर प्रतिरक्षा खर्च बढाउने प्रतिबद्धताका बारे अन्य नेटो राष्ट्रहरुले पुष्टि गरिसकेका छैनन्।

नेटो देशलाई रक्षा खर्च बढाउन आह्वान

खुशी

उत्तर एटलान्टिक सन्धि संगठन, नेटो, का सदस्य राष्ट्रहरुको दुई दिने शिखर बैठकपछि बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले त्यसप्रति आफ्नो खुशी सार्वजनिक गरेका थिए।

उक्त संगठनका अन्य सदस्यहरु भन्दा अमेरिकाले बढी खर्च गर्ने गरेको भन्ने गुनासो व्यक्त गर्दै ट्रम्पले सो गठबन्धनको आलोचना गर्ने गरेका थिए।

बिहीबार बिहान प्राप्त अपुष्ट समाचार विवरणहरुका अनुसार यदि अरु राष्ट्रहरुले सन् २०२४ मा आफ्नो कुल गार्हस्थ उत्पादनको दुई प्रतिशत प्रतिरक्षा बजेट तुल्याउनु पर्ने सो गठबन्धनको लक्ष्य पूरा नगरेमा अमेरिका अलग हुने भनि ट्रम्पले कडा धारणा प्रस्तुत गरेका थिए।

तर बैठकपछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यो शिखर बैठक सफल भएको भनेर प्रशंसा गरे।

उनले आफूहरुले ठूलो प्रगति हासिल गरेको दावी पनि गरे।

बलियो

उनले सन् १९४९ मा स्थापित उक्त गठबन्धनप्रति अमेरिकाको बलियो प्रतिबद्धता निरन्तर नै रहेको पनि बताए।

तर शिखर बैठकमा भएको वास्तविक सहमतिका बारे भने परस्पर विरोधी विवरणहरु बाहिर आउन थालेका छन्।

बैठकमा राम्रो सहमति भएको भनेर ट्रम्प र नेटोका महासचिव जेन्स स्टोल्टनवर्गले अभिव्यक्ति दिएका छन्।

तर फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले चार वर्षअघि भएको सहमति भन्दा अरु कुरामा कुनै पनि सदस्य राष्ट्रले प्रतिबद्धता नजनाएको बताएका छन्।

सम्बन्धित सामग्री