अनशनरत डा. केसी र सरकारबीच झन् दूरी बढ्दै

  • 12 जुलाई 2018
Image caption डा. केसीले अध्यादेश अनुरुपकै विधेयक ल्याउनु पर्ने माग राख्दै आएका छन्

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १३ दिन देखि अनशनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले हालसम्म चासो नदेखाएको भन्दै चिकित्सक संघले सरकारको आलोचना गरेको छ।

आफुहरु सहजीकरण गर्न तयार रहँदा पनि सरकारले वार्ता टोली समेत गठन नगरेर दम्भ देखाएको संघका पदाधिकारीहरुले आरोप लगाएका छन्।

डा. केसीको अनशनबारे सदनमा आरोपप्रत्यारोप

विवादित प्रावधानसहित 'चिकित्सा शिक्षा विधेयक'

सरकारका एकजना मन्त्रीले भने डाक्टर केसी काठमान्डू आएपछिमात्रै उनले उठाएका मुद्दाहरुमा छलफल हुन सक्ने बीबीसीलाई बताए।

केसीका कतिपय मागहरुलाई सम्बोधन गर्ने ठानिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बिहीबार संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहे पनि अन्तिम समयमा कार्यसूचीबाट हटाइएको थियो।

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै अनशन शुरु गरेका डा. गोविन्द केसीको अनशन लम्बिंदै जाँदा उनको स्वास्थ्य स्थिति दिन प्रतिदिन कमजोर बन्दै गएका विवरणहरु सार्वजनिक भएका छन्।

चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले अहिले विभिन्न दलका प्रमुख नेताहरुलाई उनको स्वास्थ्य र मागबारे निकास खोज्न आग्रह गर्दै भेटघाट गरिरहेको छ।

वार्ता

आफुहरु सरकार र डाक्टर केसीका बीचमा सहजीकरण गर्न तयार रहेको जानकारी दिएको संघले सरकारले वार्ता टोली समेत गठन नगरेर समस्या बल्झाएको आरोप लगाएको छ।

चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम प्रधानले भने, "वार्ता समिति बनाइदिनुहोस् भन्दा सरकारले वार्ता समिति बनाउदा घुँडा टेक्छु भन्न थाले पछि अनि कसरी समस्या समाधान हुन्छ। समाधानतिर सरकार लागेकै छैन, दबाएर जाने भन्नेमा लागेको छ। मिलाउने हैन चिढ्याउने काम भैरहेको छ।"

विगतमा डाक्टर केसीले पटक पटक गरेका अनशन र सरकारसँग भएका वार्ताको उपलब्धि रुपमा हेरीएको चिकित्सा शिक्षा अध्यादेश समेत निष्कृय भैसकेको छ।

तर डाक्टर केसीले भने अध्यादेश अनुरुपकै विधेयक ल्याउनु पर्ने माग राख्दै आएका छन्।

वर्तमान सरकारले परिमार्जन सहित विधेयक संसदमा लगेपछि त्यसको विरोध भएको थियो।

त्यसमा लचिलो हुने र डाक्टर केसीका मागका सम्बन्धमा वार्ता टोली गठन गरेर छलफल गर्ने मनस्थितिमा सरकार देखिँदैन।

शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले भने, "विगतमा पनि वार्ता टोलीमा रहेकाहरुले सहमति गर्नु भयो, उहाँले मान्नु भएन। उहाँको स्वास्थ्य स्थिति र अन्य परिस्थितिका कारण पहिले उहाँलाई काठमाडौं ल्याउँ, अनि अन्य कदम चालौंला।"

सरकारले वार्ता टोली गठन गरे केसीले जुम्लामा अनशन गर्दै गर्दा पनि वार्ताका लागि काठमाडौंमा उनको तर्फबाट छलफल गर्न टोली तयार रहेको उनका एकजना सहयोगी डा जीवन क्षेत्रीले बताए।

विधेयक

चिकित्सा शिक्षा विधेयकमाथि संसदमा पनि सहज ढंगले छलफल हुने अवस्था छैन।

विधेयकमाथि विरोधको सूचना दर्ता गराएका कांग्रेस नेता गगन थापाले भने, "मसँग संख्या छ त्यसकारण जस्तो विधेयक मैले चाहेको त्यस्तै अनुरुप मैले पारित गरेर जान्छु भन्ने सोचमा सरकार देखिन्छ। त्यस्तो बेलामा त्यसले अनपेक्षित मुठभेडको स्थिति पनि निम्त्याउन सक्छ।"

सरकार र अनशनरत डाक्टर केसी दुबै पक्ष आफ्नो अडानबाट पछाडि हटने मनस्थितिमा नदेखिंदा उनको अनशन लम्बिंदै जाने र देशभरका चिकित्सक समेत आन्दोलनमा उत्रने अवस्था सृजना हुँदै गएको देखिन्छ।

केसीको अनशनप्रति ऐक्यवद्धता देखाउँदै चिकित्सकहरुले एक घण्टा काम छोडेर विरोध प्रर्दशन शुरु गरेका बेला सरकारले उनीहरुलाई समेत कारवाहीको चेतावनी दिएको र त्यसले समाधान नदिने चिकित्सक संघका पदाधिकारीहरुको भनाइ छ।