धावनमार्गमा भ्वाङ पर्दा नियमित उडान प्रभावित

  • 13 जुलाई 2018
विमानस्थल तस्वीर कपीराइट EPA

देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको नियमित मर्मत सम्भार नहुँदा र पछिल्लो समय बढ्दै गएको उडान चापका कारण धावनमार्गमा प्वाल पर्ने समस्या बढेको अधिकारीहरूले बताएका छन्।

त्यसका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यो हप्ता धेरै चोटि विमानस्थल नै बन्द गर्नु परेको जनाइएको छ।

अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसक्दासम्म यस्तो समस्या दोहोरिरहने विज्ञहरूले बताएका छन्।

वर्षा सुरु भएसँगै देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा फेरि समस्या देखिन थालेको छ।

समस्या

विगतमा झैँ यसपटक पनि धावनमार्गमा भ्वाङ पर्न थालेको र यसले नियमित उडानलाई प्रभावित पार्न थालेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री बताउँछन्।

उनले भने, "धेरैजसो ट्याक्सी वेमा भ्वाङ पर्छ, धावनमार्गमा पनि देखिन्छ। हामी बन्द गर्छौँ अनि मर्मत गर्छौँ। यो सातामा मात्र मङ्गलवार र बिहीवार आधा घण्टा जस्तो बन्द गर्न परेको थियो। हरेक १० वर्षमा पिच गर्नुपर्ने हुन्छ त्यो नभएकोले समस्या देखिएको हो।"

वर्षा नसकिँदासम्म प्वालपरेका धावनमार्ग टालटुल गरेरै काम चलाउनुको विकल्प नभएको क्षेत्रीले बताए।

यस्तै धावनमार्गको क्षमता भन्दा धेरै र ठूला जहाजले उडान भर्ने कारणले पनि समस्या थपिँदै गएको विज्ञहरू बताउँछन्।

विकल्प

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हवाई ट्राफिकसँग सरोकार राख्ने निकाय एअर ट्राफिक सर्भिस शाखाका पूर्वप्रमुख विमलेशलाल कर्णले भने, "घाम लागे पनि पिचमा समस्या आउँछ त्यस्तै वर्षा हुँदा पिचभित्र पानी पस्छ अनि ठूलो जहाज अवतरण गर्दा प्वाल पर्छ।"

"यति धेरै र वाइड बडी जहाज उडाउने भने बनेकै हैन यो धावनमार्ग। लामो समय विमानस्थल बन्द गरेर मर्मत गर्न सकिँदैन त्यसैले अर्को विमानस्थल छिट्टै सञ्चालनमा ल्याउनुको अर्को विकल्प हामीसँग छैन।"

त्रिभुवन विमानस्थलमा हाल दैनिक तीन सय भन्दा बढी उडान हुने गरेको छ।

विदेशी पर्यटक आउने समयमा यो सङ्ख्या निक्कै बढ्ने गर्छ।

यति धेरै उडान हुने विमानस्थलको धावनमार्ग जस्तो सम्वेदनशील विषयलाई अधिकारीहरुले समयमै समाधान नगर्ने परिपाटिले त्रिभुवन विमानस्थलमाथि सुरक्षाको प्रश्न खडा गर्ने सम्भावना बढ्दै जाने जानकारहरू बताउँछन्।