भानु जयन्ती: पूर्वोत्तर भारतमा नेपालीभाषीको उत्सव

  • 13 जुलाई 2018
भा

भारतका पूर्वोत्तर राज्यहरूमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीलाई त्यहाँका नेपालीभाषीहरूले विशेष उत्सवका रूपमा मनाउने गरेका छन्।

उनीहरू असार २९ मा आयोजना हुने कार्यक्रमहरूमा परम्परागत नेपाली भेषमा ठाँटिएर सहभागी हुन्छन्।

नेपालीभाषीहरुको बढी जनसङ्ख्या भएमध्येको एउटा राज्य आसाममा रोहित गौतम भन्छन्, "आसामका प्रत्येक जिल्लामा जहाँ नेपालीभाषीहरूको बसोबास छ, त्यहाँ भानु जयन्तीका विशेष कार्यक्रम भइरहेका छन्।''

उनका अनुसार आसाममा आज मारुनी नाच एवम् कवितावाचनका कार्यक्रम भए।

नेपालीभाषी

सिक्किम, पश्चिम बङ्गाल, मेघालय, मिजोरम, सिलोङ, मणिपुर आदि भारतीय राज्यमा झन्डै डेढ करोड नेपालीभाषीहरू बस्छन्।

भानु जयन्तीको अवसरमा साहित्यिक संस्थाहरूले भानुभक्तकृत भाषारामायण पाठ तथा भानुभक्तको जीवनीबारे छलफल हुने गरेको छ।

त्यहाँ रहेका भानुभक्तको प्रतिमामा माल्यार्पण पनि गरिन्छ।

सिक्किमका साहित्यकार थीरुप्रसाद नेपाल भन्छन्, "भारतमा बस्ने नेपालीभाषीका लागि भानु जयन्तीलाई जातीय एकताको रूपमा मनाउने गरिएको छ।"

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले पनि भानु जयन्तीको उपलक्ष्यमा उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन्।