म महिला हुँ त के भो! बाइक स्टन्ट गर्छु
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

म महिला हुँ त के भो: बाइक स्टन्ट गर्छु

  • 13 जुलाई 2018

पेसाले नर्स दीपा श्रेष्ठ बाइक स्टन्ट र बाइक रेस गर्न पाउँदा गौरव अनुभव भएको बताउँछिन्।

नर्सिङ र मनोविज्ञान पढेकी दीपा श्रेष्ठसँग दुईपाङ्ग्रे साधन प्रयोग हुने साहसिक खेलको सोख पनि छ। तर त्यसमा उनले खासै भविष्य देखेकी छैनन्।

बाबुआमाकी एक मात्र सन्तान भएका कारण उनलाई बाइक रेस र स्टन्टजस्तो जोखिमपूर्ण गतिविधिमा लाग्न अनुमति थिएन।

लुकीलुकी गरिरहेको अभ्यासपछि पहिलो पटकको रेस हेर्न आमालाई बोलाएको सम्झँदै उनी भन्छिन्, "मैले रेसमा जितेपछि आमाको पनि आत्मविश्वास बढ्यो। त्यसपछि मैले ढाँटेर हिँड्न परेन।"

त्यसअघि भने उनी किताब राख्ने झोलामा अभ्यासका लागि चाहिने चिजबिज लुकाएर अभ्यासमा जान्थिन्।

अभ्यास गर्दा हुने हिलोमैलो धोइपखाली सुकिलो भएर फर्कन्थिन् ।

अवस्था

उनले विभिन्न अवसरमा देशभित्र आयोजना भएका कार्यक्रमहरुमा स्टन्ट गरेकी छन्।

झन्डै एक वर्षदेखि उनी कुनै अभ्यासमा गएकी छैनन्। कारणबारे उनी भन्छिन्, "रमाइलोको लागि रेसमा कुद्नु र स्टन्ट गर्नुबाहेक यसमा देशभित्रै अरू सम्भावना छैन।"

उनका अनुसार रेस वा स्टन्ट गर्दा कुनै दुर्घटना भइहाले वा बाइक बिग्रिएमा कुनै किसिमको सहयोग नहुने भएकाले स्टन्ट सोखमा मात्रै सीमित भएको हो।

यो क्षेत्रमा लागेका औँलामा गन्न सकिने महिलाहरू पनि विदेश गएका वा अभ्यास छाडेकाले नेपालमा महिला रेसर र स्टन्टरहरूको वृद्धि सोचेअनुसार हुन नसकेको उनी बताउँछिन्।

अनुभव

प्रशिक्षकको अभाव भए पनि दीपाका श्रीमान् र परिवारले भने उनलाई हौस्याउने गरेका छन्।

घरबाहिर अरूको हेर्ने दृष्टिकोण भने फरक रहेको उनी सुनाउँछिन्।

"रेसमा जान्छु वा स्टन्ट गर्न जान्छु भनेर निस्कँदा आज पनि समाजले अनौठो मान्छ।"

बाइक स्टन्ट केटाहरूले मात्र गर्छन् भन्ने मनोविज्ञान समाजमा देखिन्छ।

सम्बन्धित सामग्री